Date:2017/11/25 |Saturday

जापानमा सिक्ने अवसर

Posted on: August 11, 2017 | views: 78 | दिल तामाङ

काठमाडौं । करिब डेढ महिनाअघि नेपालका ‘ए’ लाइसेन्स प्राप्त पाँच प्रशिक्षक एक साताका लागि प्रशिक्षण कोर्षका लागि जापान पुगे । जापानको प्रशिक्षण विधि सिक्ने मौका सुनिल श्रेष्ठ, मेघराज केसी, यामप्रसाद गुरुङ, नवीन न्यौपाने र राजेन्द्र तामाङले पाएका थिए । प्रशिक्षणपछि उनीहरूले नेपालको प्रशिक्षण शैली नै बदल्नुपर्ने बताएका थिए । 

विगत १७ महिनादेखि नेपालको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक र एन्फाको टेक्निकल डिरेक्टरको रूपमा जापानी नै रहेका छन् । उनीहरूले सूक्ष्मरूपमै नेपालको फुटबललाई नियालिरहेको छ । उनीहरूले नै नेपालको फुटबलको प्रशिक्षण विधि परिवर्तन गर्नुपर्ने र नेपालमा दक्ष प्रशिक्षक नै नभएको बताउँदै आएका थिए । नेपालले अब जापानी फुटबल शैली अपनाउनुपर्ने भनिरहेको बेला जापानी संस्था जाइका नेपालको सहयोगमा प्रशिक्षकहरू जापान पुगेका थिए । एएफसी एसियन कप छनोटको प्रशिक्षणमा रहेको नेपाली टिम ठ्याक्कै डेढ महिनापछि नेपाली टोली नै जापानको फुटबल शैली पछ्याउन करिब २० वर्षपछि प्रशिक्षण र अभ्यासमा शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने टोलीमा २४ खेलाडी र ६ पदाधिकारी रहेका छन् । नेपाली सिनियर टोली यसअघि सन् १९९७ मा विश्वकप छनोट खेल्न जापान गएको थियो । 

शुक्रबार जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ (एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले बिहीबार एक कार्यक्रमका बीच बिदाइ गरे । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आफू नेपाली टिमको प्रशिक्षक भएलगत्तै नेपाली टिमलाई जापानमा अभ्यास र प्रशिक्षणबारे जापान फुटबल फेडेरेसनसँग गरेको कुरा आज पूरा भएको बताए । ‘प्रशिक्षक भएलगत्तै आफ्नै देशमा प्रशिक्षणमा लैजाने योजना बुनेको थिएँ । आज त्यो पूरा भएको छ,’ प्रशिक्षक कोजीले भने, ‘मेरा खेलाडीहरूले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापनिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ ।’ यस्तै प्रशिक्षक कोजीले जापानको प्रशिक्षण र अभ्यास दौरान सिकेका ज्ञान भदौ २० गते घरेलु मैदानमै हुने ताजिकिस्तानविरुद्धको खेलमा देखाउने बताए ।

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जाइका नेपालको विभिन्न कार्यक्रमअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा अभ्यास खेल र अभ्यासका लागि अवसर पाएको बताए । डेढ महिनाअघि प्रशिक्षकहरूले पनि जाइका नेपालबाटै जापानमा पुग्न सकेको बताउँदै राजदूत मासासीले खेलमा हार जित स्वाभाविक भएको बताउँदै जापानको विभिन्न टोलीलाई जितेर आउन शुभकामना दिए । यस्तै राजदूत मासासीले जापानमा १० दिनसम्म सिकेको ज्ञानलाई एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध उत्कृष्ट खेल खेल्दै जित्न शुभकामना व्यक्त गरे । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले विगत १७ महिनादेखि नेपाली राष्ट्रिय फुटबल टिमलाई निखार्दै आएको बताउँदै जापान भ्रमणलाई थप फलदायी बनाउन आग्रह गरे । सदस्य–सचिव विष्टले जापानको अभ्यास र प्रशिक्षणले खेलाडीमा मनोबल, क्षमता र अनुभवमा निखारता अझै आओस् भन्ने शुभकामना व्यक्त गरे । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सन् २०१६ नेपाली फुटबलमा स्वर्णिम वर्ष रहेको स्मरण गर्दै नेपालको एएफसी एसियन कपको दोस्रो चरणको यात्रा अझै बाँकी रहेको बताए । अध्यक्ष श्रेष्ठले जापानको १० दिने अभ्यास र प्रशिक्षणले ताजिकिस्तानविरुद्धको खेलमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले जापानको मैत्रीपूर्ण खेल र अभ्यासले टिमलाई फाइदा पुग्ने विश्वास लिए । उनले कुनै पनि प्रतियोगिता हुनुभन्दा अघि यस्तै मैत्रीपूर्ण खेल र अभ्यास गर्ने मौका पाए टिमले राम्रो नजिता दिन सक्नेसमेत बताए । ‘अघिल्लो मैत्रीपूर्ण खेलमा नेपाल दक्षिण एसियाली स्तरका राष्ट्र र अरेबियन मुलुकका केही देशहरूसँग खेल्ने मौका पाएको थियो । अहिले जापानजस्तो राष्ट्रमा प्रशिक्षण र क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएका छौं,’ कप्तान अनिलले भने, ‘यसले टिमको प्रदर्शनमा पक्कै पनि सुधार ल्याउनेछ ।’

नेपाली राष्ट्रिय टिमले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापानिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ । नेपालले साउन २९ देखि भदौ ३ गतेसम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू–२३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिटिस् स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू–१८ सँग प्रतिस्पर्धा गर्नेछ । भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित समूहमा तेस्रो स्थानमा छ । ताजकिस्तान अन्तिममा छ । नेपाल आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । घरेलु मैदानमा नेपालले यमनलाई बराबरीमा रोकेको थियो 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं