Date:2017/09/26 |Tuesday

जेष्ट ब्याडमिन्टन प्रतियोगिता सुरु

Posted on: September 07, 2017 | views: 21 |

हिमालय टाइम्स

काठमाडौं । जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा दोस्रो जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबार देखि काठमाण्डौमा सुरु भएको छ । एक कार्यक्रमबीच माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी ‘राजन’ ले दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरे । 

मन्त्री केसीले सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न प्रतियोगिताको रेफ्री उदय अर्याललाई सटल कर्क प्रदान गरेका थिए । यस्तै प्रतियोगिता उद्घाटन दौरान पहिलो खेल मन्त्री र पूर्वनेपाल ब्याडमिन्टन अध्यक्ष किशोरबहादुर सिंहबीच भएको थियो । 

वसुन्धारास्थित एकेडेमीको आफ्नै प्रांगणमा हुने प्रतियोगितामा पुरुष एकलको खेलमा सेनाका रत्नजित तामाङ, एपीएफका विजित थापा र सुदीप सेँढाई, पुलिसका गौतम कठायत र विष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनील जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य र नीरविक्रम देवकोटा, सेनाका नवीन श्रेष्ठ र प्रफुल महर्जन, एपीएफका साजनकृष्ण ताम्राकार र सुमन लिम्बू, कैलालीका सञ्जीव खड्का आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । 

प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, मिश्रित जोडी, यु–१७ पुरुष र महिला एकल, ३५ वर्ष र ४५ वर्षमाथिको मास्टर गरी कुल ८ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष युगलमा भने नेपाल ब्याडमिन्टन संघको ¥याङकिङमा उच्च दस स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छैनन् । 

कुल ७ लाख ८० हजार लागत रहेको प्रतियोगितामा ३ लाख २८ हजार पुरस्कारमा खर्च हुनेछ । जसमा पुरुष एकल र जोडीतर्फ प्रथम र द्वितीयले नगद २५ हजार र १५ हजार तथा तृतीय स्थान प्राप्त गर्ने अर्थात् सेमिफाइनलिष्टले नगद ५–५ हजार प्राप्त गर्ने छन् । यस्तै महिला एकलतर्फ प्रथम, द्वितीयले नगद २० हजार र १२ हजार तथा तृतीय हुने दुईले नगद ४–४ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१७ महिला तथा पुरुषमा पहिलो र दोस्रो हुनेले नगद १६ हजार र ८ हजार तथा तेस्रो हुने दुईले नगद ३–३ हजार प्राप्त गर्नेछन् । यस्तै मिश्रित जोडी र मास्टरतर्फका पहिलो, दोस्रो हुनेले २० हजार र १२ हजार तथा तेस्रो हुने दुईले ४–४ हजार प्राप्त गर्ने छन् । 

यस्तै प्रतियोगितामा अनुशासित एक खेलाडीलाई काठमाडांै जिल्ला ब्याडमिन्टन संघले प्रायोजना गरेको १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा २१९ खेलाडीको सहभागिता छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं