Date:2017/11/23 |Thursday

हङकङविरुद्धको खेलका लागि १८ खेलाडी छनोट

Posted on: September 07, 2017 | views: 49 |

हिमालय टाइम्स

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १८ खेलाडीको छनोट भएको छ । बन्द प्रशिक्षणमा राखिएको २५ खेलाडीबाट हङकङविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय खेलाडीको छनोट भएको हो । १८ सदस्यीय खेलाडीबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्ने टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जानकारी गराए । नेपाली टिमको छनोट राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काल गरेका हुन् । 

अस्वस्थ्यका कारण २५ सदस्यीय टिमबाटै बाहिरिएका भेट्रान स्पिनर शक्ति प्रसाद गौचनको स्थानमा बोलाइएको शाहव आलमले पनि अन्तिम १८ मा स्थान बनाउन सकेन् । यस्तै प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याट्सम्यान बनेका सौरभ खनाल, अभिनाश कर्ण, विक्रम सोब, दिलीपनाथ, सुनिल धमला र हासिम अन्सारी टोलीमा पर्न सकेनन् । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ राउण्डमा हङकङसंग उसैको घरेलु मैदानमा अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ । 

च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक छ । यता, नेपालको भने समान १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित भएको नेपालको ८ अंक छ । नेपालले अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्नेहुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, वसन्त रेग्मी, मेहबुव आलम र सोमपाल कामी छन् । यस्तै सागर पुन, विनोद भण्डारी, करन केसी, जितेन्द्रकुमार मुखिया, सुशील कँडेल, कुशल भुर्तेल, ललितसिंह भण्डारी र सुसन भारी, छन । नरेश बहादुर बुढाऐर, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने अन्तिम १८ मा अटाएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं