Date:2017/09/19 |Tuesday

प्रतिभालाई युरोपमा प्रशिक्षणको मौका

Posted on: September 07, 2017 | views: 17 | मुना कार्की

काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । 

नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिए । 

गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाएका हुन् । 

महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताए । उनका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । 

काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल भइन् । तेह्र वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी मालीले त्यसयता निरन्तर टोलीमा सहभागी छिन् । उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन् । 

न्यू डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यावसायिक प्रशिक्षण लिनेछिन् । उनले आगामी असोज ६ गतेदेखि २८ गतेसम्म प्रशिक्षण लिने कार्यक्रम तय भएको महासचिव चन्दले जानकारी दिए । 

राष्ट्रिय टोलीको सदस्य मालीले उक्त अवसर पाएकामा खुशी व्यक्त गर्दै प्रशिक्षणले भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सहास स्पोर्टस्की ब्राण्ड एम्बासडरसमेत रहेकी मालीलाई केही दिनअघि मात्र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । 

त्यस्तै माली नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदौ २६ गते हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमासमेत परेकी छन् । 

नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले माली प्रतिभावान् खेलाडी भएकै कारण उक्त प्रशिक्षणका लागि छनोट भएको बताए । प्रतिभाले सबैभन्दा कम उमेरमा भलिबलमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ छ । “अझै १०÷१५ वर्षसम्म राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छ, नेदरल्याण्डको प्रशिक्षणबाट नेपालको समग्र भलिबललाई फाइदा पुग्नेछ,” मालीको खेलको प्रशंसा गर्दै प्रशिक्षक भट्टले भने । 


मालीको प्रशिक्षणले माहिला भलिबल खेलको विकासमा टेवा पुग्ने भन्दै उनले अन्य खेलाडीलाई समेत प्रेरणा मिल्ने बताए । नेपालको भलिबल खेलमा सहयोग गर्ने विषयमा नेदरल्यान्ड भलिबल सङ्घ र नेपाल भलिबल सङ्घबीच गत महिना काठमाडौँ सम्झौता भएको थियो । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं