Date:2017/11/23 |Thursday

स्पोर्टस अवार्डको युवा विधामा प्रतिभासँग अन्यको प्रतिस्पर्धा

Posted on: September 08, 2017 | views: 65 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको आठ विधामध्ये एक आकर्षक विधा हो, वर्षका उत्कृष्ट युवा खेलाडी । स्पोर्ट्स अवार्डको १४ औं संस्करणमा यस अवार्डमा युवा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली यसपटक वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् । उनीहरू २०७३ सालमा गरिएको प्रदर्शन र प्राप्त उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । दीपेन्द्रले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका लागि सर्वाधिक ३५७ रन बनाएका थिए । त्यसमा उनले चार अर्धशतक आत्मसात गरेका थिए र ४ विकेट पनि लिएका थिए ।

सुदूरपश्चिमका दीपेन्द्रले राष्ट्रिय टिमबाट ५ खेलमा तीन अर्धशतकसहित २ सय ११ रन जोडेका थिए । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन बनाएका थिए । त्यस्तै, इमर्जिङ टिम्स कपमा उनले बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन बटुलेका थिए भने यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन प्रहार गरेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार खेलाडी हुन्, डिफेन्डर अनन्त तामाङ । यी सेन्टरब्याकले नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महŒवपूर्ण योगदान दिएका थिए । मलेसियामा भएको सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई २—२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेको थियो । उक्त खेलमा अनन्तले हेडद्वारा एक गोल गरेका थिए । गतवर्ष घुँडाको शल्यक्रिया गरेर पनि खेलमा पुनरागमन गरेका उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

मनिता श्रेष्ठ प्रधान लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकी हुन् । अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी एक प्रतिभाशाली खेलाडी हुन् । उनले २०७३ सालमा भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कास्यपदक जितेकी थिइन् । उक्त च्याम्पियनसिपमा उनी ३ खेल जितेर कास्यसम्म पुगेकी थिइन् ।

मनिताले गतवर्ष सम्पन्न घरेलु प्रतियोगितामा पनि अपराजित रहेकी थिइन् । उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका स्मृति जुडो च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्णपदक कब्जा गरेकी थिइन् । उनी अम्बिका स्मृति जुडोकी सर्वोत्कृष्ट खेलाडी पनि चुनिएकी थिइन् । उनले गत वर्ष उज्वेकिस्तानमा भएको एसियन जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

सुनसरीकी कमला श्रेष्ठ नेपाली भारोत्तोलनकी उदीयमान खेलाडी हुन् । उनले दुई वर्षयता लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक हात पारेकी थिइन् । त्यस क्रममा उनले १२ वर्ष पुरानो झन्ट कटवालको समेत कीर्तिमान तोडेकी थिइन् । उनले स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी थिइन् । उनी पाँचौं ग्राँ प्रि भारोत्तोलनका पनि स्वर्णपदक विजेता हुन् ।

प्रतिभा टिन एजमै नेपाली भलिबलकी मुख्य खेलाडीको रुपमा स्थापित भएकी छन् । उनले गत वर्ष न्यू डायमन्ड एकेडेमीलाई ४ उपाधि दिलाउन मुख्य खेलाडीको रूपमा योगदान गरेकी थिइन् । न्यू डायमन्ड खुला भलिबल (लामाचौर), एनभीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदी–बहिनी कप (कुश्मा) मा च्याम्पियन भएको थियो । उनको टिम सातौं राष्ट्रिय खेलकुदसहित तीन प्रतियोगितामा उपविजेता र एकमा तेस्रो भएको थियो । चार प्रतियोगितामा बेस्ट प्लेयर भएकी प्रतिभा ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर घोषित भएकी थिइन् । उनी माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता पनि भएकी थिइन् । उक्त च्याम्पियनसिपमा उनले सर्वोत्कृष्ट विदेशी खेलाडीको अवार्ड जितेकी थिइन् । उनी ४ पल्ट क्वीन अफ द म्याच पनि भएकी थिइन् । मालेमा भएको महिला विश्वकप छनोटको नेपाली राष्ट्रिय टिमबाट खेल्दा उनी सेकेन्ड बेस्ट आउटसाड अट्याकर पनि चुनिएकी थिइन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं