Date:2017/09/19 |Tuesday

रत्नजित र दिपेश क्वार्टरफाइनलमा

Posted on: September 08, 2017 | views: 37 |


हिमालय टाइम्स

काठमाडौं । साविकको विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ दोस्रो ज्येष्ठ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बुधबार सम्पन्न प्रतियोगिताको पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङले प्रि–क्वार्टरफाइनलमा नेपाल एपीएफ क्लबका विजित थापामगरलाई २१–९, २१–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । 

यस्तै एपीएफका सुदीप सेंढाई र साजन कृष्ण ताम्राकार, पुलिसका विष्णु कटुवाल र दिपेश धामी, कम्प्लिट हेल्थ क्लबका जीवन आचार्य, सेनाका नवीन श्रेष्ठ र कैलालीका सञ्जीव खड्का पनि क्वार्टरफाइनलमा पुग्न सफल भए । यस्तै महिला एकलतर्फ सेनाका नेपाल नम्बर एक नङ्शलदेवी तामाङ, रशिला महर्जन, अनुमाया राई र अमिता गिरी पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरे । एसएससी विराटनगरकी निता लम्साल, कास्कीकी पुनम गुरुङ, आयोजककी जेशिका गुरुङ र भोजपुरकी सीता राईले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेकी छिन् । 

एकेडेमीको वसुन्धारास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडी, बागलुङका विवेक जिसी र चन्द्रकुमार खापुङको जोडी, सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडी, ज्येष्ठका रूपक थिङ र अखिल श्रेष्ठको जोडी, सेनाका पविन लिनथेप र रुकेश महर्जनको जोडी, एपीएफका इन्द्र महता र पुलिसका गौतम कठायतको जोडी, गंगटाका रेशम पुन र राजकुमार पोखरेलको जोडी र सेनाका दिलेन्द्र पुन र विशाल खड्काको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए । प्रतियोगिताको दोस्रो दिन भएको यु–१७ ब्वाइजतर्फ शेर्पा ट्रेडर्सका प्रिन्स दाहाल, सेनाका विशाल खड्का, पविन लिनथेप, रुकेश महर्जन र प्रफुल महर्जन, नेपालगञ्ज ब्याडमिन्टन क्लबका सहरोज अन्सारी र शिव थापा तथा आयोजक ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका सियोन पेन्जोर केम्पे पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।

कुल ७ लाख ८० हजार लागत रहेको प्रतियोगितामा ३ लाख २८ हजार पुरस्कार खर्च हुनेछ । जसमा पुरुष एकल र जोडीतर्फ प्रथम र द्वितीयले नगद २५ हजार र १५ हजार तथा तृतीय स्थान प्राप्त गर्ने अर्थात सेमिफाइनलिष्टले नगद ५–५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकलतर्फ प्रथम, द्वितीयले नगद २० हजार र १२ हजार तथा तृतीय हुने दुईले नगद ४–४ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१७ महिला तथा पुरुषमा पहिलो र दोस्रो हुनेले नगद १६ हजार र ८ हजार तथा तेस्रो हुने दुईले नगद ३–३ हजार प्राप्त गर्नेछन् । यस्तै मिश्रित जोडी र मास्टरतर्फका पहिलो, दोस्रो हुनेले २० हजार र १२ हजार तथा तेस्रो हुने दुईले ४–४ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित एक खेलाडीलाई काठमाडौं जिल्ला ब्याडमिन्टन संघले प्रायोजना गरेको १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं