Date:2017/11/23 |Thursday

इपिएलका ६ टोली, मालिक र मार्की खेलाडी सार्वजनिक

Posted on: September 09, 2017 | views: 87 |

हिमालय टाइम्स

काठमाडौं । आगामी डिसेम्बरमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक भएको छ ।

आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । जसअनुसार सर्वाधिक राशिको प्रतियोगितामा देशभरका ६ टिममा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । काठमाडौं किङ्स इलाभेनका मालिकमा रोहित गुप्ता रहेका छन् । ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जन, भैरहवा ग्ल्याडियटरका मालिक आदित्य सांघाइ, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनोजका मालिक साहिल अग्रवाल र चितवन टाइगर्सका मालिक किशोर भट्टराई रहेका छन् । त्यस्तै मार्की खेलाडीमा काठमाडौं किङ्स इलाभेनमा सोमपाल कामी रहेका छन् । ललितपुर प्याट्रिओट्समा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, भैरहवा ग्ल्याडियटरमा शरद भेषवाकर, विराटनगर वारियर्समा राष्ट्रिय टिमका कप्तान पारस खड्का रेहका छन् । यस्तै पोखरा राइनोजको मार्की खेलाडीमा भेट्रान स्पिनर शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की खेलाडीमा युवा ब्याट्सम्यान दीपेन्द्र ऐरी रहेका छन् । मार्की खेलाडीहरूको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

खेलाडीहरूको अक्सन विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलपछि गरिने इपीएलका संस्थापक आमिर अख्तरले जानकारी गराए । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले इपिएल नयाँ संरचनामा हुन लागेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता खालका प्रतियोगिताले नेपाली क्रिकेटलाई सहयोग पुग्ने बताए । उनले पहिलोपटक मार्की खेलाडी बनेका युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको तारिफ गर्दै उनले यस प्रतियोगितामा आफूलाई प्रमाणित गर्ने पनि बताए । यस्तै राष्ट्रिय टिमका कप्तान तथा विराटनगर वारियर्सका मार्की खेलाडी पारस खड्काले यस्तो खालको प्रतियोगिताले नेपाली क्रिकेटलाई थप सहयोग पुग्ने बताउँदै युवा खेलाडीलाई पसिन एक्पोज हुने बताए । उपकप्तान तथा ललितपुर प्याट्रिओट्सका मार्की खेलाडी ज्ञानेन्द्र मल्लले यस्ता खालका प्रतियोगिता नेपाली क्रिकेटका लागि आवश्यक रहेको बताए । काठमाडौं किङ्सका सोमपाल कामीले आफू मार्की खेलाडी बनेको भन्दा आफैं आश्चर्यमा परेको बताउँदै प्रतियोगिताले हौसला थपिएको बताए । यस्तै भैरहवा ग्ल्याडियटरका मार्की खेलाडी शरद भेषवाकरले भैरहवासँग जोडिन पाउनु आफ्ना लागि खुशीको कुरा रहेको बताए । यता पोखरा राईनोजका शक्ति गौचनले आफ्नो ठाउँबाट मात्रै नभई अन्य ठाउँबाट पनि केही गर्नुपर्छ भनेर पोखरा रोजेको बताए । कार्यक्रममा चितवन टाइगर्सका मार्की खेलाडी दीपेन्द्रसिंह भने उपस्थित थिएनन् । उनी यू–१९ प्रतियोगिताका लागि शुक्रबारै मलेसिया प्रस्थान गरेका थिए । 

प्रतियोगितामा सहभागी टोलीले एक विदेशी अनिवार्यसहित १५ जना खेलाडी राख्न पाउने प्रावधान बनाएको छ । प्रत्येक टोलीमा १० जना खेलाडी अक्सनबाट छनोट गरिने आयोजकले यसअघि नै घोषणा गरिसकेको थियो । इपिएलको अघिल्लो महिना मात्रै सर्वाधिक पुरस्कार राशि २१ लाख तथा प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो । यस्तै एपीएलले एक साताअघि एपिवान टेलिभिजनसँग प्रसारणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं