Date:2017/09/19 |Tuesday

पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Posted on: September 10, 2017 | views: 19 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलनको आयोजना अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

१४ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड यही भदौ २६ गते सोमबार कमलादीस्थित नेपाल एकेडेमी हलमा हुँदैछ । यसवर्ष मञ्चले विभिन्न ९ विधामा वर्ष २०७३ मा खेलक्षेत्रमार्फत नेपाललाई विश्वमै चिनाउन सफल खेलाडी तथा यस क्षेत्रमा योगदान दिँदै आइरहेका व्यक्तित्वलाई सम्मान गर्दैछ ।

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, पूर्वअवार्ड विजेताहरू पारस खड्का र दीपक विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, क्रिकेट टिमका कप्तान पारस खड्काले अवार्डको महŒवका बारेमा प्रकाश पार्दै मञ्चलाई शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले बजाज पल्सर स्पोर्टस अवार्डलाई जान्नका लागि यसको नाम नै काफी रहेको बताए । 

‘यो एउटा ऐतिहासिक महŒव बोक्ने दूरगामी पुरस्कार सम्मान हो । यो पुरस्कार जित्ने हरेक खेलाडीको एउटा सपना हुन्छ’, सदस्यसचिव विष्टले भने, ‘मलाई लाग्छ यो अवार्डको भब्य सफलताका लागि नेपाल सरकार र राखेपले जति सक्दो त्यति सहयोग गर्नुपर्छ ।’ यो अवार्डलाई राखेपको सदैव साथ रहेको बताउँदै अवार्डका लागि राखेपले १० लाख रुपैयाँ उपलब्ध गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउँदो वर्ष यस पुरस्कार सम्मानका लागि बजेट छुटाउन तत्पर भएर लाग्ने बताए । 

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यो नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय सम्मान रहेको बताए । ‘मञ्चले सधै नयाँ प्रयोग गर्दै आइरहेको छ र यसपटक पनि केही नयाँ देख्न मिल्नेमा म विश्वस्त छु’, अध्यक्ष श्रेष्ठले भने, ‘जसरी नेपालीहरू महान् चाड दशैँ र तिहारका लागि कुरिरहेका हुन्छन् त्यसरी नै खेलाडीहरू यो समारोहका लागि कुरिरहेका हुन्छन् ।’ यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले एउटा सानो कोठाबाट सुरु भएको वर्ष खेलाडी सम्मान जुन स्थितिमा छ त्यो अकल्पनीय रहेको बताए । ‘म यसलाई राष्ट्रिय पुरस्कार भन्न रुचाउँछ । यही पुरस्कारका कारणले नै खेलाडीलाई अझ बढी मिहिनेत गर्न प्रोत्साहन मिलेको छ’, ओलम्पीयन विष्टले भने, ‘यो अवार्डले प्राइभेट सेक्टरलाई पनि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’ 

यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिलोपटक युवा खेलाडीको मनोनयनमा परेको प्रसंग कोट्याउँदै पुल्चोकमा एउटा सानो हलबाट यो पुरस्कारको सुरुवात भएको अवार्ड अहिले भव्य भएको बताए । ‘यो अवार्ड यति ठूलो हुनुमा मञ्चका सदस्यको ठूलो हात छ । मञ्चले खेल र खेलाडीप्रति देखाएको लगाव र आफूले गरेको मिहिनेतलाई प्रष्ट पार्छ’, कप्तान पारस खड्काले भने, ‘वर्ष खेलाडी पुरस्कार भनेको नेपाली खेलाडीको उपलब्धिको सही सम्मान हो । पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकर्मीले वर्षैभर कुर्ने प्रतिष्ठित अवार्ड हो ।’

पारसले आफू हरेक पटक अवार्ड जित्ने कोसिस गर्ने बताए । यस्तै मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडी मनोनयनमा पर्नु नै विजेता भइसेकेको बताउँदै अवार्ड दिन एकजनामात्र छानिने एउटा प्रक्रियामात्रै रहेको बताए । स्पोर्टस अवार्डअन्तर्गत मञ्चले वर्ष खेलाडी पुरुष, महिला तथा युवा, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट, पारा एथ्लिट र स्पेशल अवार्ड मार्फत सम्मान गर्नेछ । 

वर्ष खेलाडी युवा, वर्ष प्रशिक्षक तथा पिपुल्स च्वाइसका मनोनयनहरू यसअघिका कार्यक्रममार्फत सार्वजनिक भइसकेका छन् भने अन्य विधाका विजेता समारोहको दौरान नै घोषणा गरिनेछ । यसअघि उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेतालाई बजाज पल्सर मोटरसाइकल दिँदै आइएको थियो भने यस वर्ष प्रशिक्षकलाई पनि मोटरसाइकल प्रदान गरिनेछ । अन्य विजेताले नगद ५० हजार प्राप्त गर्नेछन् ।हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि अवार्डको मुख्य प्रायोजक हो ।

इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन, सुर्य नेपाल प्रालि, रुस्लान फुटबल, साहस स्पोर्टस, रोयल सिंगी होटल, डिस मिडिया नेटवर्क लिमिटेडको डिस होम एक्सन स्पोर्टस, टिएचटी लाइभ ३३१३१, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, एभरेष्ट बैंक र एभिन्यूज टेलिभिजन साझेदारको रूपमा छन् । एभिन्यूज टेलिभिजनले अवार्डको प्रत्यक्ष प्रसारण गर्नेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं