Date:2017/11/23 |Thursday

किरण र नङ्सल वर्षका उत्कृष्ट खेलाडी

Posted on: September 12, 2017 | views: 76 | दिल तामाङ

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किपर चेम्जोङ र ब्याडमिन्टनकी नङ्सलदेवी तामाङ वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् ।

उनीहरु दुवै १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डबाट सम्मानित भएका हुन् । किरणले ब्याडमिन्टनका रत्नजित तामाङ, एथ्लेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद भेषवाकरलाई पछि पारे । यस्तै महिलातर्फ नङ्सलले अन्य आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भट्टराई, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सका कान्छीमाया कोजुलाई पछि पारिन् । 

अवार्ड विजेता किरण भने माल्दिभ्समा रहेका कारण अवार्ड कार्यक्रममा उपस्थित थिएनन् । किरणको अवार्ड उनका माता हर्क माया राईले लिइन् । 

महिलातर्फ अवार्ड जितेपछि ब्याडमिन्टनकी नङ्सलदेवी तामाङले अवार्ड जित्न पाउँदा एकदम खुसी लागेको बताइन् । ‘म पहिलोपटक २०६८ मा अवार्डको मनोनयनमा पर्न सफल भएको थियो । करिब ६ वर्षपछि पुनः अवार्डमा पर्न सफल भए । जिते,’ नङ्सलले भनिन्, ‘मेरो आफ्नो मिहेनत र परिश्रमले नै आज अवार्ड जित्न योग्य भएँ । मलाई साथ दिने ब्याडमिन्टन संघ, सबै गुरु, खेलाडी, पदाधिकारी र मलाई साथ दिने सिटिजन बैंकलाई धन्यवाद दिन चाहन्छु ।’ फुटबलमा नेपालले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महŒवपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए । बंगलादेशमा भएको शेख कमल कपमा माल्दिभ्सको क्लब टीसी स्पोर्टसलाई च्याम्पियन बनाउन किरणले महŒवपूर्ण भूमिका निभाएका थिए । नङ्सलले भाइ रत्नजितसँग मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएकी थिइन् । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्णपदक जितेका थिए ।

अवार्ड विजेता पुरुषतर्फको किरण चेम्जोङलाई हंसराज हुलास एण्ड कम्पनी प्रालिका शेखर गोल्छा र महिलातर्फको विजेता नङ्सललाई डिस मिडिया नेटवर्कका सुदीप आचार्यले पुरस्कृत गरे । 

यस्तै एथ्लेटिक्सका प्रशिक्षक पुष्पराज ओझा एनएसजेएफ पल्सर वर्षका उत्कृष्ट प्रशिक्षक भएका छन् । उनी रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन् । उनका चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र ८ कास्यपदक पनि जितेको थियो ।


कान्छीमाया पिपुल्स च्वाइस अवार्डबाट सम्मानित

एथ्लेटिक्सकी कान्छीमाया कोजुले बजाज पल्सर स्पोर्टस अवार्डअन्तर्गतको पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । 

एथ्लेटिक्सकी कान्छीमायाले फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, जुडोकी फूपुल्हामु खत्री र पौडीकी गौरिका सिंहलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डमा ९५ हजार ७ सय २६ भोटमध्ये एथ्लेटिक्सकी कान्छीमायाले सर्वाधिक ६६ हजार ८ सय ६४ भोट प्राप्त गरिन् । दोस्रो स्थानमा रहेको फुटबलका सुजल श्रेष्ठले १६ हजार ७८  र दीपेन्द्रसिंह ऐरीले ८ हजार ७ सय ७४ भोट प्राप्त गरे ।  


मनिता पल्सर युवा वर्ष खेलाडी

जुडोकी मनिता श्रेष्ठ प्रधान पल्सर युवा वर्ष खेलाडी घोषित भएकी छिन् । लगातार दोस्रोपटक वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्न सफल मनिताले यसपटक अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएकी हुन् । मनिताले अन्य क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पारिन् । अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । गत वर्ष भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कास्यपदक जितेकी उनले त्यो च्याम्प्यिनसिपमा ३ खेल जित्दै कास्य जित्न सफल भएकी मनिताले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण जितेकी थिइन् ।

यस्तै मनिता अम्बिका मेमोरियलकी सर्वोत्कृष्ट खेलाडी एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागिता जनाएकी थिइन् ।

नेपाली राष्ट्रिय पुरुष भलिबल टिम वर्षको उत्कृष्ट भलिबल टिम घोषित भएका छन् । 

वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, वर्ष युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकले एक–एक थान पल्सर एनएस १६० मोटरसाइकल प्राप्त गरे । अन्य विजेताले जनही ५०–५० रुपैयाँ प्राप्त गरे ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं