Date:2017/09/23 |Saturday

अन्तर्राष्ट्रिय पदकको आशा बोकेको खेल कुराँस

Posted on: September 14, 2017 | views: 115 |

काठमाडौं । मार्सल आर्ट जुडो र बेल्ट रेस्लिङ खेलको समिश्रण रहेको कुराँस नेपालमा भित्रिएको धेरै भएको छैन । तर, नेपालमा भित्रिएको छोटो समय अवधिमै कुराँस खेल नेपालाई अन्तर्राष्ट्रिय पदक दिलाउने महŒवपूर्ण खेलको रूपमा स्थापित हुन थालिसकेको छ । उदाहरणको रूपमा एक वर्षअघि दक्षिण कोरियामा सनमान गोलेले कास्यपदक जितेको खेललाई लिन सकिन्छ । यस्तै सन् २०१६ मा प्रताप घिसिङ र भगवती माझीले भियतनाममा भएको एसियनबीच गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए । 

एसियाली राष्ट्र उज्वेकिस्तानको राष्ट्रिय खेलको रूपमा रहेको कुराँस जुडो खेलको विकसित रूप हो । तर, यसको इतिहास भने लामै छ । विभिन्न अनुसन्धानले कुराँस खेल करिब ३ सय ५० वर्षअघिबाट नै स्थापित भएको देखाउँछ । यसलाई उज्वेकिस्तानमा ब्युताँउने प्रयास भने सन् २०१३ मा भयो । सन् २०१३ मा कुराँस खेललाई ओलम्पिक काउन्सिल अफ एसियाले आधिकारिक मान्यता दिएपछि यसको विकास चौतर्फी रूपमा हुन गएको देखिन्छ । कुराँस खेल विश्व स्तरको एसियन गेम्स, एसियन समर गेम्स, एसियन इन्डोर मार्सल र एसियन बिच गेम्समा यसको प्रतिस्पर्धा भएको पाइन्छ । अझ यो कुराँस खेललाई सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने १८ औं एसियन गेम्समा पनि समावेश गरिएको छ । यसले पनि कुराँस खेलको महŒवलाई अन्तर्राष्ट्रियरूपमा नै दर्शाएको छ । जुडो तथा बेल्ट रेस्लिङ खेलको समिश्रण रहेको कुराँसको प्रकृति उस्तै रहे पनि पोशाक र नियममा भने केही भिन्नता रहेको छ । तीन मिनेटको एक बाउट मानिने कुराँसमा क्लिन एक सटमा विपक्षीलाई पछार्न सके सिधै नकआउटमा प्रवेश गर्ने र त्यसो हुन नसके झिनो नम्बर दिएर विजेता छान्ने गरिन्छ । एसियाली स्तरमा लोकप्रिय हुँदै गएको कुराँस खेललाई नेपालमा ल्याउने श्रेय भने दानबहादुर घिसिङलाई जान्छ । उनकै अध्यक्षमा सन् २०१६ मा गठन भएको नेपाल कुराँस संघले सन् २०१६ जुनमा राष्ट्रिय खेलकुुद परिषद (राखेप) बाट आधिकारिक मान्यता पाएको थियो । स्थापना कालको छोटो समय अवधिमै विभिन्न ७ जिल्लामा जिल्ला कमिटी गठन भइसकेको छ भने १६ जिल्लामा कमिटी गठन गर्ने लक्ष्य रहेको छ भने करिव १६० खेलाडीहरू उत्पादन भइसकेका छन् । 

यस्तैमा विश्वमा लोकप्रिय बन्दै गएको कुराँसले यसै साताबाट सुरु हुने पाँचौं एसियन इन्डोर गेम्समा सहभागिता जनाउन लागेको नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले जानकारी गराए । एसियन इन्डोर्स गेम्स ओलम्पिक काउन्सिल अफ एसियाको प्रोजेक्टको कार्यक्रम हो । यस इन्डोर गेम्समा एसियाका ४५ देशको सहभागिता रहेको छ । इन्डोर गेम्समा पौडी, किक बक्सिङ, तेक्वान्दो, चेस, साइक्लिङ, मुवाथाई, भारोत्तोलन, कुराँसलगायतका खेलहरू हुनेछन् । तुर्केमिनिस्तानको आस्कावाद शहरमा अर्काे हप्ताबाट सुरु हुने एसियन इन्डोर गेम्समा नेपालका ३ खेलाडीले सहभागिता जनाउँदैछ । सोही प्रतियोगितालाई लक्षित गरेर पदकको आशा बोकेकी अस्मिला छन्त्याल करिब एक महिनाअघिबाट तुर्केमिनिस्तानमै प्रशिक्षणमा व्यस्त कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले जानकारी गराए । अन्य दुई सहभागीले भने काठमाडौंमै प्रशिक्षण गरिरहेको अध्यक्ष तामाङले जानकारी गराए । इन्डोर गेम्समा नेपालको तर्फबाट अस्मिला छन्त्यालले ७८ केजीभन्दा माथि, जयन्ती श्रेष्ठले ७० केजीभन्दा माथि र दीपक छन्त्यालले ८१ केजीभन्दा माथि प्रतिस्पर्धा गर्नेछ । 

संघका अध्यक्ष घिसिङले इन्डोर गेम्समा नेपालको लक्ष्य पदक नै रहेको बताए । ‘खेल हो केही भन्न सकिँदैन । तर, हामीले इन्डोर गेम्समा पदकको आशा गरेका छौं । त्यसैलाई लक्षित गरेर हाम्रा खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन् ।’ अध्यक्ष घिसिङले भने, ‘पदकको आशा बोकेकी अस्मिलाले उज्वेकिस्तानका मुख्य प्रशिक्षक दिलासँग करिब एक महिना अघिबाट निरन्तर प्रशिक्षण गरिरहेकी छिन् । उनैबाट हामीले पदकको आशा गरेका छौं ।’ यस्तै अध्यक्ष घिसिङले सन् २०१७ मै इण्डोनेसियाको तेनी शहरमा आयोजना भएको राष्ट्रपति कप अन्तर्राष्ट्रिय कुराँस प्रतियोगितामा सहभागिता जनाएका दीपक छन्त्यालबाट पनि पदकको आशा राखिएको बताए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं