Date:2017/12/17 |Sunday

साग निर्धारित समयमै हुने

Posted on: September 26, 2017 | views: 66 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले आयोजना गर्ने अधिकार पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने बताएका छन् । 

१३ औं सागमा २५ खेल समावेश भएको आधिकारिकताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले १३ औं साग निर्धारित मितिमै हुने दाबी गरेको हो । १३ औं साग सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म हुने तय भएको थियो । ‘१३ औं सागको आयोजनाका लागि हामीलाई सरकारले प्रतिबद्धतासहितको पत्र पठाएको छ । यसले पनि १३ औं साग नेपालमा निर्धारित समयमै हुने संकेत गर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार निर्माण र पुनर्संरचना भइरहेको छ । पूर्वाधारका लागि स्पिडअपको मात्रै खाँचो छ । प्रविधिको उच्च विकास भइरहेको अवस्थामा भौतिक संरचनाको निर्माण तथा पुनर्निर्माण निर्धारित समयमा पक्का हुनेछ । यो १७ महिनाको समयमा सम्पन्न भइसक्ने र साग पनि निर्धारित समयमै हुनेमा हामी विश्वस्त छौं ।’ यस्तै अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटीको विवादका कारण १३ औं नेपालमै हुने÷नहुने बारेको अन्योलता अब हटिसकेको बताए । ‘१३ औं साग आयोजनामा अब कुनै भ्रम हुनेछैन । सागका लागि हामी उच्च प्राथमिकताका साथ कार्यहरू अघि बढिरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने । यस्तै अध्यक्ष श्रेष्ठले १३ औं सागका लागि तय भएका २५ खेल काठमाडौं र पोखरामा हुने जानकारी गराए । दुई शहरमा हुने २५ खेलमा कुन–कुन इभेन्ट समावेश गर्ने भन्नेबारे दक्षिण एसियाली ओलम्पिक काउन्सिलको जनवरीमा काठमाडौंमा बस्ने चौथो बैठकले निर्धारण गर्ने बताए । १२ औं सागसम्म विभिन्न खेल फेरबदल भइरहेको अवस्थामा यसपटक ओलम्पिक खेल फेन्सिङ पहिलोपटक साग खेलकुदमा समेटिएको बताए । ओलम्पिक खेल ट्रायथलनले पनि १२ औं सागबाट निरन्तरता पाएको बताए । यस्तै अध्यक्ष क्षेष्ठले सागको तेस्रो बैठकले अर्काे संस्करणबाट ओलम्पिक खेलकुदपछि दक्षिण एसियाली खेलकुद (साग) र त्यसपछि एसियन गेम्स गर्ने गरी प्रस्ताव अघि सारिएको बताए । 

नेपालले आयोजना गर्ने अधिकार पाएपछि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको तेस्रो बैठक बसिसकेको छ । 

काठमाडौंमा डिसेम्बरमा बसेको पहिलो बैठकले विधान संशोधनलगायत दक्षिण एसियाली ओलम्पिक काउन्सिलको मुख्य कार्यालय काठमाडौंमा राख्ने प्रस्ताव पारित गरेको थियो । यस्तै जुनमा भुटानमा बसेको दोस्रो बैठकले विभिन्न २८ खेल प्रस्ताव गरेको थियो । पाँचौं इन्डोर एसियाली मार्सल आर्टस् गेम्सको दौरान तुर्केमिनिस्तानको आस्कवादमा बसेको तेस्रो बैठकले २३ खेल सहमतिमार्फत र बाँकी दुई खेल आयोजकले राख्न पाउने निर्णय गरेको थियो । 

आस्कावाद बैठकबाट १३ औं सागमा समावेश गरिएका खेलहरू 

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ (पहिलोपटक समावेश), फुटबल, गल्फ (आयोजक), हृयाण्डबल, जुडो, कबड्डी, कराते (आयोजक), खो–खो, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, रेस्लिङ र उसु रहेका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं