Date:2017/10/17 |Tuesday

नेपाल अन्तिम अभ्यास खेलमा पराजित

Posted on: September 26, 2017 | views: 46 |

हिमालय टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा हार व्यहोर्दै भारत भ्रमणको अन्त्य गरेको छ । 

अघिल्ला तीन अभ्यास खेल जितेको नेपाली टोलीले सोमबार भ्रणमको चौथो तथा अन्तिम खेलमा सेन्टर फर स्पोर्टस (सिएसए) सँग ५ रनले पराजित भएको छ । २ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १० रन मात्र जोड्न सक्यो । मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सागर पुन र कप्तान पारस खड्काले राम्रो सुरुआत दिलाउँदै पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । त्यो क्रममा सागरले अर्धशतक पूरा गरे भने पारस अर्धशतक बनाउनबाट १ रनले चुके । ४० बल खेलेका पारसले ८ चौका र १ छक्काको मद्दतमा ४९ रन जोडे । सागरले ८४ बल खेल्दै ७ चौका र २ छक्कासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४५ रन बटुले । तल्लो क्रमका ब्याट्सम्यान नचलेपछि नेपाल अन्तिम खेलमा पराजित भएको छ । विनोद भण्डारीले १५, आसिफ शेखले ७ र सोमपाल कामीले ५, करण केसीले ३ रन जोडे । त्यसअघि निर्धारित ५० ओभरको खेलमा अन्तिम बलमा अलआउट भएको सिएसएसले २ सय १५ रन बनाएको थियो । मध्यक्रमका ब्याट्सम्यान विल्किन्स भिक्टरले ७४ रन बनाएपछि सिसिएसले मध्यम स्कोर खडा गरेको थियो । भिक्टरले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर अनन्थले ४५ , तुशारले २६ र गणेशले २० रन बनाए । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । सन्दिप लामिछाने र करण केसीले समान २ तथा सोमपाल र सागरले १–१ विकेट लिए ।

अर्काे महिनाको अन्त्यमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाली टोली बुधबार स्वदेश फर्कनेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल हङकङमा हुनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं