Date:2017/12/17 |Sunday

एनआरएनएले फुटसल र गल्फ प्रतियोगिता आयोजना गर्ने

Posted on: October 09, 2017 | views: 40 |

हिमालय टाइम्स

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको खेलकुद समितिले आफ्नो आठौं विश्व सम्मेलनको अवसर पारेर फुटसल र गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आयोजक एनआरएनएले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फुटसल प्रतियोगिता र गल्फ प्रतियोगिता गराउने जानकारी गराएको हो । फुटसल असोज २७ गते हुनेछ गल्फ कात्तिक १ गते हुनेछ । फुटसलमा विभिन्न देशमा बसोबास गर्ने १२ देशका टिमहरूले प्रतिस्पर्धा गर्ने एनआरएनए खेलकुद समितिका सभापति नारायण गुरुङले जानकारी गराए । 

यस्तै गल्फमा पनि विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूबीच प्रतिस्पर्धा हुनेछ । गल्फमा ५५ वर्षभन्दा मुनि र ५६ वर्षभन्दा माथि १८ होलमा प्रतिस्पर्धा हुने सभापति गुरुङले जानकारी गराए । यस्तै सभापति गुरुङले यो प्रतियोगिता निरन्तर आयोजना गर्ने बताए । फुटसल खुशिवुस्थित रिभर फिल्ड फुटसल एरिनामा हुनेछ भने गल्फ गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न १० देखि १२ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

आठौं विश्व सम्मेलनकै अवसरमा एनआरएनएले असोज २८ गते पुराना खेल पत्रकार तथा विदेशमा रहेर नेपालको खेलुकदमा अमूल्य योगदान दिन सफल खेल हस्तीहरूलाई पनि सम्मान गर्ने जनाएको छ । जसमा टोकियो ओलम्पिक १९६४ देखि एसियाली खेलकुद, साग खेलकुद र अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी हुनेछन् । एनआरएनएले यसअघि नेपाली खेलकुदमा योगदान दिएका विभिन्न खेलका खेलाडी तथा टिमलाई सम्मान गरिसकेको छ । 

एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा असोज २८ देखि असोज ३१ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व छान्नेछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं