Date:2017/10/17 |Tuesday

ननितालाई दोस्रो अन्तर्राष्ट्रिय पदक

Posted on: October 09, 2017 | views: 31 |

हिमालय टाइम्स

काठमाडौं । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टिमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कास्यमा चित्त बुझायो । 

खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन् । त्यो कास्यपदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो । आठौं विश्व शारीरिक सुगठन ननिताको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । 

ननिताले २०७३ सालमा काठमाडौंमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन् । त्यस प्रतियोगितामा ननिताले स्वर्ण जितेकी थिइन् । सोमबार सम्पन्न हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा ननिता र २ पुरुष खेलाडी गरी ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए । 

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको महासचिव श्रेष्ठले बताएका छन् । ‘नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि दुई खेलाडीले पदक जितेका थिएनन्’, महासचिव श्रेष्ठले भने ‘यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धी हात पार्दै सारा नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुशी तुल्याएका छन् । सम्पूर्ण टिमलाई बधाइ छ ।’ नेपाली टोली सोमबार राति स्वदेश फर्किँदैछ । अन्तर्राष्ट्रिय निर्णायक ईश्वरमान श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं