Date:2017/12/17 |Sunday

थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित

Posted on: October 10, 2017 | views: 55 |

हिमालय टाइम्स

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले विधान संशोधन गर्दै रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित गरेको छ । 

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) र एसियायी फुटबल महासंघ (एएफसी) का प्रतिनिधिको उपस्थितिमा सोमबार ललितपुरमा बसेको विशेष साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संशोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संशोधन र थ्रीस्टारलाई क्षतिपूर्ति दिनेबारेको दुई महŒवपूर्ण निर्णय पारित गरेको हो । एन्फाको आसन्न पुस ८ मा हुने नयाँ कार्यसमितिको निर्वाचन यसै विधानमा रहेर हुनेछ । यस्तै साधारणसभाले पाँच वर्ष फुटबलमा रही दुई वर्ष सक्रियरूपमा लागि परेकालाई चुनावमा उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ । 

साधारणसभामा २० धारा छोएर ३८ बुँदालाई संशोधन गरेको छ । यस्तै साधारण सभाले यसअघि बसेको कार्यसमिति बैठकले गरेको महिला समिति हटाउने निर्णयलाई उल्टाएर महिला समिति यथावत राख्ने र निर्वाचनको भोटिङ राइट दुईबाट ३ जना पु¥याउने निर्णय गरेको छ । संशोधित विधान अनुमोदन गरेसँगै अहिले भोटिङ राइट पाउँदै गरेका ४५ जिल्ला, १४ ‘ए’ डिभिजन, ९ ‘बी’ र ५ ‘सी’ डिभिजन क्लब र विभिन्न चार समितिले निर्वाचनको बेला ३ जना पदाधिकारी पठाउन सक्ने निर्णय गरेका छन् । 

मुलुक संघीय संरचनामा गइरहेको अवस्थामा एन्फाले पनि मुलुक संघीय संरचनामा गइसकेपछि त्यसै अनुरूप संरचना परिवर्तन गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी गराए । 

‘देश संघीय संरचनामा जाने अभ्यासमा छ । हामीले अहिले नै आफ्नो संरचना परिवर्तन गर्न गाह्रो छ,’ सिइओ तुलाधरले भने, ‘पुसमा हुने चुनावी साधारण सभाबाट चुनिने नयाँ कार्यसमितिले यसबारे अभ्यास थालिहाल्नुपर्ने छ ।’ यस्तै सिइओ तुलाधरले देश संघीयतामा गए संघीयताअनुसार विधान तयार गरिने पनि बताए । ‘४५ जिल्ला एन्फाका सदस्य रहेका छन् । देश संघीयता हुनेबित्तिकै संघीयताअनुसार विधान तयार गर्नेछौं,’ सिइओ तुलाधरले भने । 

यस्तै एन्फाको विशेष साधारणसभाले ‘ए’ डिभिजन क्लबलाई १ करोड ५० लाख दिने निर्णय बहुमतले पारित गरेको छ । थ्रीस्टारको क्षतिपूर्ति रकम बढीमा तीन किस्तामा मंसिर १० गतेभित्र दिने यसअघि नै निर्णय भइसकेको थियो । यही विषयलाई एन्फाको विशेष साधारण सभाले पारित गरेको हो । एन्फाका अक्षम्य गल्तीका कारण थ्रीस्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न नपाएपछि थ्रीस्टारले क्षतिपूूर्तिस्वरूप ६ करोड र दोषीमाथि कारबाहीको माग गरेको थियो । तर, पछि थ्रीस्टार र एन्फाबीच १ करोड ५० लाख लिने दिने विषयमा सहमति भएको थियो । यही विषय एन्फाको अघिल्लो कार्यसमिति बैठकमा उठेको थियो । एन्फाले यसअघि एक छानबिन समिति बनाएर दोषी देखिएका महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारीहरू गोकुल थापा र वसन्त रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो । एन्फाले गत भदौ २९ गतेदेखि उनीहरूलाई १५ दिनका लागि निलम्बन गरेको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं