Date:2017/11/23 |Thursday

युवा टिमको बिर्सनलायक प्रदर्शन

Posted on: November 09, 2017 | views: 17 |

हिमालय टाइम्स

काठमाडौं । एक महिनाअघि यु–१८ राष्ट्रिय फुटबल टोलीले भुटानमा भएको साफ यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगिताको पहिलो खेलमै नेपाल आफूभन्दा पनि कमजोर प्रतिद्वन्द्वी मानिने आयोजक भुटानसँग पराजित हुन पुगेको थियो । 

पहिलो खेलमै हार व्यहोरेपछि सबैको अनुमानले युवा टोलीले उपाधि जित्न नसकिने आँकलन गरेको थियो । तर, त्यसको ठीक विपरीत युवा टिमले त्यसपछिका सबै खेलमा उत्कृृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर स्वदेश फर्कियो । त्यही साफ यु–१८ प्रतियोगिता जितेको हैसियतले नेपाल एएफसी यु–१९ च्याम्पियनसिपका लागि छनोटसमेत भएको थियो । अधिकांश साफ यु–१८ को उपाधि विजेता टिमका खेलाडी सम्मिलित युवा टिमले किर्गिस्तानमा एएफसी यु–१९ च्याम्पियनसिपमा भने बिर्सनलायक प्रदर्शन गरेको छ । 

समूह चरणको कुनै पनि खेल जित्न सकेन । यतिमात्र होइन युवा टिमले यसपटक गोल गर्न सकेन । नेपालले च्याम्पियनसिपका चार खेलमा एक गोल गर्न सकेन भने १२ गोल खाँदै घर फर्कियो । समूह ‘ए’को अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेको किर्गिस्तान र बहराइनको समान अंक भएपनि गोलअन्तरमा आयोजक दोस्रो स्थानमा छ । ओमान ७ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले खाता खोल्न सकेन ।

च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बुधबार नेपाल ओमानसँग ५–० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । किर्गिस्तानको विष्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । विष्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज जित निकाल्यो । ओमानसँगको हारसँगै समूह ‘ए’ मा नेपालले च्याम्पियनसिपमा जित, गोल र अंक जोड्न सकेन ।

च्याम्पियनसिपको सबै ४ खेलमा नेपालले हार बेहो¥यो । पहिलो खेलमा घरेलु टोली किर्गिस्तानसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो भने तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग १–० ले पराजित भएको थियो । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं