Date:2017/11/23 |Thursday

अल्फा बिटा अन्तर कलेज फुटसल अर्को महिना

Posted on: November 11, 2017 | views: 31 |

हिमालय टाइम्स

काठमाडौं । अल्फा बिटा कन्सल्टेन्सीले अर्को महिना फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

साढे दुई दशक अघि स्थापना भएको कन्सल्टेन्सीले अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिता मंसिर ६ देखि ८ गते सम्म राजधानीको शंखमुल फुटसलमा आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्माले जानकारी दिए । शिक्षा क्षेत्रमा लोकप्रिय बनेको अल्फा बिटाले पहिलोपटक खेलक्षेत्रमा पनि हात हालेको हो । विद्यार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता खालका प्रतियोगिता सहयोगी हुने हामीले विश्वास लिएका जनाउँदै अल्फा बिटाले यो फुटसल प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य लिएको बकताउदै अध्यक्ष थापाले निकट भविष्यमै क्रिकेट, मार्सल आर्टका खेलका साथै फुटबल प्रतियोगिता पनि आयोजना गर्दै लैजाने कार्यकारी अध्यक्ष द्विराज शर्माले पत्रकार सम्मेलनमा बताए । 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का तथा कीर्तिमानी पदक विजेता एवंम् ओलम्पियन दीपक विष्टले संयोजन गर्ने प्रतियोगितामा उपत्यकाका कम्तीमा १६ देखि २० कलेजले प्रतिस्पर्धा गर्ने बताइएको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा पहिला आउने टिमले पहिलो प्राथमिकता पाउने प्रतियोगिता संयोजक हरि खड्काले जानकारी गराए । फुटसलकै नियमका आधारमा हुने प्रतियोगितामा प्रवेश शुल्क १५ सय तोकिएको छ । संयोजक हरि खड्काले कलेजका विद्यार्थीहरु अधिकांश यू–१९ कै हुने भएकाले निकट भविष्यमा फुटसलको राष्ट्रिय टिम निर्माणको लागि पनि यो प्रतियोगिता एक माध्यम बन्ने बताए । यस्तै अर्का प्रतियोगिता संयोजक तथा कीर्तिमानी खेलाडी दीपक विष्टले शैक्षिक क्षेत्रमा क्रियाशील संस्थाले खेल क्षेत्रमा हात फिजाउनु पनि नेपाली खेलकुदका लागि खुशीको कुरा रहेको बताए ।

करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २ लाख ३० हजार रुपैयाँ नगद पुरस्कारका रुपमा प्रदान गरिने आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीका साथ १ लाख, दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र सर्वाधिक गोल कर्तालाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं