Date:2017/11/23 |Thursday

बंगलादेशसँग सम्मानजनक हार

Posted on: November 12, 2017 | views: 28 |

काठमाडौं । मलेसियामा जारी यु–१९ युथ एसिया कप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग सम्मानजनक हार व्यहोरेको छ । मलेसियाको किन्नरा ओभलमा वर्षाले प्रभावित भएको खेलमा नेपालले बंगलादेशसँग डकवर्थ लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको सम्मानजनक हार व्यहोरेको हो । 

वर्षाले प्रभावित खेलमा ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पाएको बंगलादेशले ८ विकेटको क्षतिमा अन्तिम बल बाँकी रहँदा लक्ष्य भेट्टायो । बंगलादेशका लागि मोहम्मद नमिन सेखले ५२ रन जोडे। त्यस्तै होसन दुब्रोले ३३ तथा पिनक घोषले २४ रन बनाए । नेपालका लागि सन्दिप लामिछाने र कमल सिंह ऐरीले समान २–२ विकेट लिए भने अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी र किशोर महतोले समान १–१ विकेट हात पारे ।

त्यसअघि ४०.१ ओभरमा नेपालले ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको स्थितिमा वर्षाले खेल रोकिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन जोडे । ४० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे । अनिलकुमार शाहले १९ रन बनाए । ७० रन बनाउँदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौं विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गर्दै नेपाली पारी उकासेका थिए । बंगलादेशका लागि नयिम हसनले ३ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार भारतसँग खेल्ने छ ।

बंगलादेशसँगको सम्मानजनक हारपछि युवा टोलीका प्रशिक्षक विनोद दासले समग्रमा नेपालले राम्रो खेल खेलेको तर नतिजा आफ्नो पक्षमा नआउदा दुःख लागेको बताए । ‘हाम्रो सुरुवात राम्रो भएन । ८० रनको स्कोरमा ४ विकेट गइसकेको थियो । उतारचढावमा खेल्दै १ सय ८१ रनसम्म पु¥याउनु टिमको प्रदर्शनमा सुधार आएको मान्न सकिन्छ ।’ प्रशिक्षक दासले भने, ‘दोस्रो पारीमा पनि खेल उस्तै रहृयो । तर जित निकाल्न सकेनौ खेलाडीको प्रदर्शनबाट खुशी हुने ठाउँछ ।’ बंगलादेशसँगको खेल र आइतबार हुने भारतविरुद्धको खेल नेपालका लागि आफ्नो क्षमता मापन गर्ने राम्रो माध्यम भएको दासले बताए । प्रशिक्षक दासले भारतविरुद्ध आइतबार वेष्ट क्रिकेट खेल्ने बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं