Date:2017/11/23 |Thursday

चन्द्रगिरि गोल्डकप मंगलबारदेखि

Posted on: November 12, 2017 | views: 16 |

हिमालय टाइम्स

काठमाडौं । चन्द्रगिरि नगरपालिकामा अवस्थित ब्राइट युथ क्लबको आयोजनामा पहिलोपटक ‘ए’ डिभिजनस्तरीय चन्द्रगिरि गोल्डकप हुने भएको छ । आयोजक ब्राइट युथ क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चन्द्रगिरी गोल्डकप यही मंगलबार अर्थात् कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म हुने जानकारी गारएको हो ।

प्रतियोगितामा आयोजकको एक टिमसहित ‘ए’ डिभिजनका ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रमेश बुढाथोकीले जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका एक टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, नेपाल एपीएफ क्लब र आयोजक ब्राइट युथ क्लबको सहभागिता रहेको छ । समूह ‘ए’ मा ब्राइट युथ क्लब, फ्रेन्डस् क्लब, नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र नेपाल एपिएफ क्लब रहेका छन् 

प्रतियोगिताको विजेताले ५ लाख नगदसहित गोल्ड ट्रफी प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको हरेक म्याच खेल्ने टिमले तयारीस्वरूप ३० हजार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले जानकारी गराए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३०–३० हजार प्राप्त गर्नेछ । 

हरेक खेलका म्यान अफ दि म्याचले ३ हजार प्राप्त गर्नेछ । प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । हिरोकी प्रतिनिधि शीतल दाहालले खेल कस्तो हुने त्यसको माइलेज हेरेर अर्काेपटकदेखि मोटरसाइकल प्रदान गर्ने जानकारी गराइन् । 

यस्तै प्रतियोगितालाई चन्द्रगिरि नगरपालिका युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ । प्रतियोगिताको लागि करिब ५५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको सबै खेल नैकापस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राइट युथ क्लब र फ्रेण्डस् क्लबबीच दिउँसो २ बजेपछि हुनेछ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं