Date:2017/11/23 |Thursday

सेनेगल १६ वर्षपछि विश्वकपमा

Posted on: November 12, 2017 | views: 24 |

एजेन्सी

केपटाउन । अफ्रिकी राष्ट्र सेनेगलले रसिया विश्वकप २०१८ मा स्थान सुरक्षित गरेको छ । अफ्रिकी छनोटअन्तर्गतको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै सेनेगलले १६ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको हो । 

गतवर्ष सेनेगल दक्षिण अफ्रिकासँग २–१ ले पराजित भएको थियो । सेनेगलले १६ वर्षअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा स्थान बनाएको थियो । त्यसयताका तीन विश्वकपमा सेनेगलले स्थान बनाउन सकेको थिएन । सेनेगलको जितमा १२ औं मिनेटमा डिएफ्रा साकहोले गोल गरे । 

३८ औं मिनेटमा दक्षिण अफ्रिकाका मखिजीले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सेनेगलले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र सेनेगल विजयी भयो । जितपछि एक खेल बाँकी हुँदै विश्वकपमा स्थान बनाएको सेनेगल समूहको दोस्रो स्थानमा रहेको बुर्किना फासोभन्दा पाँच अंकले अघि रहेको छ । सेनेगलको ११ तथा बुर्किना फासोको ६ अंक छ । 

यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको दाबेदार मानिएको फ्रान्सले वेल्सलाई २–० ले परासजत गरेको छ । फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरे । फ्रान्सले खेलको १८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा अर्का स्ट्राइकर ओलिभर जिरुडले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए । 

त्यस्तै क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको युरोपीयन विजेता पोर्चुगल साउदी अरेबियालाई ३–० ले पराजित गरेको छ । पोर्चुगलका लागि म्यानुयल फर्नान्डेज, गोन्चालो गुइडेस र जाओ मारिओले गोल गरेका थिए । यस्तै इन्ङ्ल्यान्ड र जर्मनी भने वेम्वलीमा गोलरहित बराबरी खेलेका छन् । मैत्रीपूर्ण खेलमै विश्वकपको अर्काे दावेदार बेल्जियमले मेक्सिकोसँग ३–३ को रोमाञ्चक बराबरी खेल्यो । बेल्जियमका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने चेल्सीका एडेन हाजार्डले एक गोल गरेका थिए । मेक्सिकोका लागि भने आन्द्रेस् ग्वार्डाडोले पेनाल्टीमार्फत गोल गरेका थिए र फरवार्ड हिर्भिङ लोजानोले दुई गोल गरेका थिए ।

इटाली संकटमा

चारपटकको विश्वविजेता इटालीको अर्काे वर्ष रूसमा आयोजना हुने रसिया विश्वकप–२०१८ को सम्भावना बढेको छ । सिधै विश्वकपमा स्थान बनाउन नसकेको चारपटकको विश्वविजेता इटाली युरोपीयन प्ले अफको पहिलो लेगमा शुक्रबार राति स्वीडेनसँग १–० ले पराजित भएसँगै विश्वकप यात्रा संकटमा परेको हो । 

विश्वकपमा स्थान बनाउन अब इटालीले सोमबार घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा निश्चित जित निकाल्नुपर्ने हुन्छ । जित ननिकालेको खण्डमा इटाली सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन असफल हुनेछ । 

घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए । स्वीडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखेपनि गोल गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि हार टार्न सकेन । जोहान्सनले ६१ औं मिनेटमा गरेका २० यार्ड टाढाको प्रहार ड्यानियल डे रोस्सीलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । इटालीका लागि डिफेन्डर म्याटिओ डार्मियानको एक प्रहार पोस्टमा पनि लागेको थियो । सोमबार खेलिने दोस्रो लेगमा इटालीका लागि मिडफिल्डर मार्को भेराट्टि प्रतिबन्धित रहनेछन् । 

स्वीडेनले फ्रान्स रहेको समूहमा नेदरल्यान्ड्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाउन सफल भएको थियो । त्यस्तै इटाली भने आफ्नो समूहमा स्पेनसँग पछि पर्दै प्ले अफमा धकेलिएको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं