Date:2017/11/23 |Thursday

नेपालको ऐतिहासिक जित

Posted on: November 13, 2017 | views: 13 | दिल तामाङ

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली युवा क्रिकेट टिमले टेस्ट मान्यता प्राप्त भारतलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

नेपाली यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले शनिबार बंगलादेशसँग २ विकेटको झिनो हारपछि आइतबार हुने खेलमा भारतलाई ‘सरप्राइज’ दिने बताएका थिए । 

मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कपको दोस्रो खेलमा नेपाली युवा टिमले भारतीय टिमलाई १९ रनले पराजित गर्दै नेपाली क्रिकेट इतिहासमा भारतविरुद्ध ऐतिहासिक जित दर्ता गरेको हो । कप्तान दीपेन्द्र सिंहले ब्याटिङतर्फ ८८ रन र बलिङमा ४ विकेट लिएका थिए । 

बायोमास ओभलमा आइतबार टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपालले सम्हालिएको प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रनको मध्यम स्कोर बनाएको थियो । १८६ रनको लक्ष्य पछ्याएको भारतले राम्रो सुरुवात गरे पनि नेपाली बलरहरू हाबी भएपछि पूरै ओभरसमेत खेल्न सकेन ।

बंगलादेशसँगको खेलमा टोलीको ब्याटिङमा गहिराइ देखिएको र यसको प्रयोग भारतविरुद्ध गर्ने प्रशिक्षक दासको भनाइ थियो । भारतलाई राम्रो टक्कर दिए पनि नेपालले पराजित गरिहाल्नेमा कोही ढुक्क थिएन । दासको प्रशिक्षणमा आइतबार एसिसी यु–१९ युथ एसिया कपमा १९ रनले हराएर नेपाली क्रिकेटले भारतलाई साँच्चै ‘सरप्राइज’ दिएको छ ।

नेपाली उमेर समूहको टिमले टेस्ट मान्यता प्राप्त राष्ट्रहरूलाई पराजित गर्न नसकेको होइन तर भारत अपराजित थियो । नेपाली क्रिकेट उमेर समूहमा निकै अब्बल मानिन्छ । नेपालले अहिलेसम्म टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई यु–१९ प्रतियोगितामै २–२ पटक पराजित गरेको छ । पाकिस्तान, जिम्बाबे र बंगलादेशलाई समान १–१ विकेटले पराजित गरिसकेको थियो । यसपटक अर्काे टेस्ट मान्यताप्राप्त राष्ट्र भारत नेपालको सिकार बन्यो । 

नेपालले अहिलेसम्म भारतसँग यु–१९ एसिया कप, यु–२३ इमर्जिङ्स टिम्स कप र एसिया कपमा खेलेको इतिहास छ । ती कुनै पनि खेलमा नेपालले भारतलाई पराजित गर्न सकेको थिएन । 

नेपाल क्रिकेट संघ निलम्बनमा रहेकै बेला भारतमाथिको ऐतिहासिक जितले नेपालमा क्रिकेटको बलियो सम्भावना छ भन्ने थप प्रमाणित भएको छ । भारतमाथिको ऐतिहासिक जितमा कप्तान दीपेन्द्र सिंहले कप्तानी इनिङ्स खेले । ब्याटिङमा ८८ रनको महत्वपूर्ण इनिङ्स खेलेका उनले बलिङमा ३९ रन खर्चंदै भारतको मत्वपूर्ण ४ विकेट लिन सफल भएका थिए । बायोमास ओभलमा नेपालले दिएको १८६ रनको मध्यम लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर १६६ रनमात्र बनाउन सक्यो । 

जितपछि नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले खेलाडीहरूको कडा मिहिनेतले भारतविरुद्ध ऐतिहासिक जित निकाल्न सफल भएको बताए । ‘यो ऐतिहासिक जित हो । यसको सबै श्रेय कडा मिहिनेत गर्ने टिमलाई जान्छ ।’ उनले विपक्षीविरुद्ध राम्रो तयारी गरेको र विपक्षीको सबल र कमजोर पक्ष केलाउन सकेकाले जित हात पार्न सफल भएको बताए । प्रशिक्षक दासले अलराउन्डर प्रदर्शन गरेका कप्तान दीपेन्द्र सिंह ऐरीको प्रदर्शन भुल्न नसकिने बताए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं