Date:2017/11/23 |Thursday

फिलिपिन्सलाई रोक्ने लक्ष्य

Posted on: November 14, 2017 | views: 15 |

हिमालय टाइम्स

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गतको चौथो खेलमा नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सको सामना गर्दैछ ।

खेल मंगलबार एन्फा कम्प्लेक्समा दिउँसो २ बजेपछि सुरु हुनेछ । छनोटबाट बाहिरिसकेको नेपालले छनोट नजिक रहेको फिलिपिन्सलाई रोक्ने प्रयाससहित मैदान उत्रनेछ । ताजिकिस्तानविरुद्धको खेलमा रणनीति परिवर्तन गरेका नेपाली टोलीका जापानिज मुख्य प्रशिक्षक ग्योतोकु कोजीले पुरानै फरम्याटमा फिलिपिन्सविरुद्ध टोली उतार्ने बताएका छन् । प्रशिक्षकले यसो गर्नुमा दुई मुख्य डिफेन्डर देवेन्द्र तामाङ र आदित्य चौधरी चोटबाट राष्ट्रिय टिमबाट बाहिरिनु हो । ‘प्रशिक्षण दौरान दुई मुख्य डिफेन्डर घाइते भए । टिमलाई ब्यालेन्स मिलाउन अभ्यास गरिरहेका छौं,’ प्रशिक्षक कोजीले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘अघिल्ला खेलमा देखिएका कमजोरी हटाउन फोकस गरिहेका छौं । भोलि नेपाल पुरानै फरम्याटमा खेल्नेछ ।’ यस्तै प्रशिक्षक कोजीले फिलिपिन्सको लेभल नेपालको भन्दा माथिल्लो स्तरको रहेकाले उनीहरुको लेभललाई छुन खेल्ने बताए । यस्तै सन्यासको संघारमा रहेका नेपाली राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले मंगलबार फिलिपिन्सविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान गुरुङले नेपाली टिमले जुनसुकै देशसँग खेल्दा जितकै लागि खेल्ने बताउँदै फिलिपिन्स बलियो टोली रहे पनि नेपाली टिममा पनि फिलिपिन्सलाई हराउन सक्ने क्षमता रहेको बताए । ‘फिलिपिन्स हामीभन्दा धेरै बलियो टिम हो । यो अहिले मात्रै होइन पहिले देखि नै हो,’ कप्तान गुरुङले भने, ‘समूहमा नेपाल पुछारमा रहे पनि मंगलबारको खेल नेपालका लागि महत्वपूर्ण छ । उनीहरुलाई जित्न मिहिनेत गर्नुपर्छ ।  यस्तै कप्तान गुरुङले फुटबलको मेरुदण्ड लिग रहेको र त्यो हुन नसक्दा च्वाइसका खेलाडीहरु खेलाउन नपाएको बताए । यता फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डोलेले नेपालविरुद्ध जितका लागि खेल्ने बताए । ‘पछिल्लो समयमा नेपालले निकै राम्रो सुधार गरेको छ । यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ । नेपालमाथि जित हात पार्नु हामीलाई सजिलो हुनेछैन ।’ प्रशिक्षक डोलेले भने, ‘घरेलु मैदानमा नेपालसँग खेल्न निकै गाह्रो हुने सुनेको छु । आशा गर्छु मंगलबार हुने खेल निकै प्रतिस्पर्धात्मक हुनेछन् । जसमा हामी बाजी मार्नेछौं ।’ यस्तै प्रशिक्षक डुलेले नेपालविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए । घरेलु मैदानमा ४–१ ले पराजित गरेको सन्दर्भमा प्रशिक्षक थोमस डुलेले सधंै एकनासको खेल नहुने बताए । ‘त्यो खेल अर्कै हो, भोलि अर्कै खेल हुनेछ । खेल सधैं एकनासको रहँदैन,’ प्रशिक्षक डोलेले भने, ‘हरेक खेल फरक हुन्छ, तर, हामी जित्नका लागि खेल्नेछौं ।’

समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तालिकाको पुछारमा छ । फिलिपिन्स ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाललाई पराजित गरे फिलिपिन्स पहिलोपटक एसियन कपका लागि छनोट हुनेछ । 

अनिल र जगजितको राष्ट्रिय टोलीमा पुनरागमन 

चोटका कारण ताजिकिस्तानविरुद्धको दुई खेल गुमाएका कप्तान अनिल गुरुङ र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्दै आएका मिडफिल्डर जगजित श्रेष्ठले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । 

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको २३ सदस्यीय टोलीमा अनिल चोटबाट फर्कँदै राष्ट्रिय टिममा स्थान बनाएका हुन् भने जगजितले करिब १८ महिनापछि राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् । यस्तै गोलरक्षक विशाल श्रेष्ठले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । ताजकिस्तानविरुद्धको २३ सदस्यीय टिममा रहेकामध्ये ३ नयाँ खेलाडी हुन् । डिफेन्डर देवेन्द्र तामाङ र आदित्य चौधरी चोटका कारण बाहिरिएका हुन् । यसअघि टिममा रहेका गोलरक्षक एलेन न्यौपानेले टिममा स्थान बनाउन सकेनन् । 

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथ, विशाल श्रेष्ठ

रक्षकः विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा मगर, सुनिल बल

फरवार्डः भरत खवास, विमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं