Date:2017/11/23 |Thursday

अनिलको सन्यास मंगलबार

Posted on: November 14, 2017 | views: 10 |

दिल तामाङ

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले मंगलबार फिलिपिन्सविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिँदैछन् । 

अनिल गतवर्ष त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका कप्तान बनेका थिए । कप्तान बनेपछि अनिलले थुप्रै आरोहअवरोह पार गरे । टिममा स्थान बनाए पनि अनिल बेञ्चका खेलाडी हुन्थे । कप्तान गुरुङले सन् २००७ अक्टोबर ८ मा विश्वकप छनोटअन्तर्गतको ओमानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मस्कटमा भएको उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो । कप्तान गुरुङले राष्ट्रिय टिमबाट ४९ क्याप जितिसकेका छन् भने ९ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । राजधानीमा चार वर्षअघि भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए । त्यसयता उनले गोल गरेका छैनन् । फिलिपिन्सविरुद्धको खेल कप्तान गुरुङको राष्ट्रिय टिमबाट ५० औं खेल हुनेछ । 

मंगलबार फिलिपिन्सविरुद्ध जति समय मैदान उत्रन्छु, त्यति नै समय पहिलेजत्तिकै जोशले खेल्ने कप्तान गुरुङले बताए । ‘फुटबल खेलेर मैले पाएको भनेको नाम हो । फुटबल खेलेरै दक्षिण एसियामा कमाएको अनिल भनेर चिनिएको छु,’ कप्तान गुरुङले भने, ‘यसमा मिडियाको पनि ठूलो साथ र सहयोग छ । फुटबलका कुनै पनि गतिविधिमा म हेडलाइन बनेर म आएको छुजस्तो लाग्छ । राष्ट्रिय टिमबाट यो कुरा मिस हुनेछ ।’ कप्तान गुरुङले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएकाले समर्थकहरुलाई मंगलबार खेल हेर्न आइदिन समेत आग्रह गरेका छन् ।  कप्तान गुरुङ भन्छन्,  ‘जसरी मैले राम्रो सुरुवात गरेँ त्यसरी नै इन्डिङ पनि राम्रो हुनेछ ।’

‘सन्यास लिँदैछुभन्दा अहिले पनि आङ सिरिङ्ग भइरहेको छ । राष्ट्रिय टिमबाट सधैं खेलिरहने सबैको इच्छा हुन्छ । तर, यसो भनेर नहुदो रहेछ,’ कप्तान गुरुङले भने, ‘एक दिन सन्यास लिने समय सबैको आउने रहेछ । अहिले म त्यही सन्यास नजिक छु । टिममा पछिल्लो समय राम्रो–राम्रो जुनियर भाइहरु आएका छन् । राष्ट्रिय टिमबाट बिदा लिने उपयुक्त समय यही हो जस्तो लाग्छ ।’

यस्तै गुरुङले जापानमा भएको अभ्यास भ्रमणपछि नै सन्यास लिने योजना बनाइसकेको बताए । जापान भ्रमणपछि चोट बोकेका अनिलले ताजिकिस्तानविरुद्धको दुई खेल गुमाएका थिए । ‘सन्यासबारे एन्फाका पदाधिकारी र परिवारसँग छलफल भइसकेको छ । उनीहरुकै सहमतिमा सन्यास लिने निर्णयमा पुगेको हु,’ कप्तान गुरुङले थपे, ‘मंगलबारको खेल मेरा लागि निकै महŒवको हुनेछ ।’ यतिका वर्ष फुटबल खेलियो सन्यास नजिक आइपुग्दा अलिकति नरमाइलो त हुने नै रैछ । राष्ट्रिय टिमबाट टाढा हुन दुःख लागेको छ । सन्याससँगै फुटबल छाडिहाल्ने होइन क्लबबाट निरन्तर फुटबल खेलरहनेछु आफूलाई फिजिकल्ली फिटनेस राखिराख्ने कप्तान गुरुङले सुनाए । 

फुटबल यात्रा

विद्यालय जीवनमा फुटबल खेल्न सिकेका अनिलले सहारा एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका हुन् । पहिलोपटक यू–१६ को उमेर समूहमा स्थान बनाएका अनिलले त्यसयता उनले निरन्तररूपमा राष्ट्रिय टिममा स्थान बनाइरहे । पोखराको सहारा एकेडेमीबाट व्यावसायिक खेल जीवन अघि बढाएका अनिलले ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज, थ्रीस्टार, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी, एनआरटी, भारतीय आइलिग क्लबबाट व्यावसायिक फुटबल खेलेको इतिहास छ । उनी अहिले मनाङ–मस्र्याङ्दी क्लबबाट व्यावसायिक खेलजीवन अघि बढाइरहेका छन् । 

जर्सी नम्बर १० र फ्यान मिस हुनेछ 

लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबका समेत कप्तान रहेका ३१ वर्षीय गुरुङले सोमबार फिलिपिन्सविरुद्धको खेलअघिको पत्रकार सम्मेलनपछि सन्यासपछि आफ्नो जर्सी नम्बर १० र आफ्नो समर्थकलाई धेरै मिस गर्ने बताएका छन् । जर्सी नम्बर १० विश्व फुटबलमा लोकप्रिय नम्बर हो । जर्सी नम्बर १० विश्व फुटबलका महान् हस्तीहरु ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्यारोडोनाले लगाएको जर्सी हो । 

साफ च्याम्पियन जित्न नसक्नु अधुरो सपना

आफ्नो समयमा दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप जित्न नसक्नुलाई अनिल गुरुङ अधुरो सपनाको रूपमा सम्झन्छन् । सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिप जित्न नेपाल हकदार रहे पनि भाग्यले साथ नदिँदा जित्न नसकिएको गुरुङ बताउँछन् ।

‘नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्यो । हामी त्यो खेलमा एकदम अभागीसावित भयौं । मेरो करियरमा सबैभन्दा नराम्रो क्षण त्यही नै हो । त्यो बेलामा हाम्रो टोली एकदम राम्रो थियो, तर खेल हारेपछि संसार हारेजस्तो भान भएको थियो ।’ अनिलको कप्तानीमा नेपालले सन् २०१६ मा पहिलोपटक एएफसीको औपचारिक प्रतियोगिता जितेको हो । इतिहासको साक्षी बन्न पाउँदा निकै खुसी लाग्यो । यसअघि प्रधानमन्त्री कप जिते पनि त्यो औपचारिक प्रतियोगिता थिएन । तर, एएफसीको औपचारिक प्रतियोगिता जित्दाको खुसी उनी आफ्नो खेलजीवनमा कहिल्यै नबिर्सने बताउँछन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं