Date:2017/11/25 |Saturday

मैदान ढोग्दै अनिलको सन्यास

Posted on: November 15, 2017 | views: 16 | दिल तामाङ

काठमाडौं । पोखराका अनिल गुरुङलाई नेपाली फुटबलमा छरिता स्ट्राइकरको रूपमा चिनिन्छ । उनै छरिता स्ट्राइकर अनिल गुरुङलाई अब राष्ट्रिय टिमको जर्सीमा देख्न पाइने छैन ।

घरेलु मैदानमा मंगलबार एफएफसी एसियन कपअन्तर्गतको चौथो खेलमा फिलिपिन्सविरुद्ध अनिलले ५० क्याप पूरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । राष्ट्रिय टिमका कप्तान अनिलले यसअघि नै सन्यास लिने सोच बनाइसकेका थिए । सन्यासका लागि उपयुक्त समयको पर्खाइमा थिए उनी । फिलिपिन्सविरुद्ध घरेलु मैदानमा हुने खेललाई अनिलले सन्यास लिने उपयुक्त खेलको रूपमा राखे र अखिल नेपाल फुटबल संघ (एन्फा) र परिवारको सल्लाहमा सन्यासको घोषणा गरे ।

खेल सकिएपछि कप्तान गुरुङलाई एन्फाका पदाधिकारीहरूले कोर्ट, खादामाला र प्रशंसापत्रले सम्मान गर्दै बिदाइ गरे । टिमका समकक्षीहरूले अनिललाई उचाल्दै उनको सन्यास स्मरणीय बनाए । त्यसपछि उनी मैदानको मध्यभागमा पुगेर मैदानलाई ढोगे । ‘म जे छु यो मैदानको कारण यहाँ छु । आज यही मैदानलाई छाड्दैछु’, कप्तान गुरुङले सन्यासपछि भने, ‘यहाँसम्म आउनुमा यही मैदानको हात छ । त्यसैले मलाई यहाँसम्म ल्याउने मैदानलाई ढोगेको हुँ ।’ कप्तान गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपनि क्लब फुटबललाई निरन्तरता दिइरहने उनको योजना छ । गुरुङले जसरी आफ्नो राम्रो सुरुवात भयो, त्यसरी नै ‘इन्डिङ’ भएको अनुभव सुनाए ।

५० खेल, १० वर्ष र १० मिनेट 

कप्तान अनिल गुरुङको फिलिपिन्सविरुद्धको खेल राष्ट्रिय टिमबाट ५० औं क्याप थियो । राष्ट्रिय टिमबाट ५० क्यापसम्म खेल्नुलाई पनि निकै ठूलो उपलब्धि मानिन्छ । नेपालमा ५० क्याप पूरा गर्ने खेलाडी बिरलै छन् । १० वर्ष राष्ट्रिय टिमबाट खेलिसकेका गुरुङले ९ अन्तर्राष्ट्रिय गोल गर्न सकेका छन् । जुन नेपालको सर्वाधिक गोलकर्ता निराजन रायमाझी र हरि खड्का (१३) भन्दा ४ गोलले कम हो । फिलिपिनसविरुद्धको खेलमा कप्तान अनिल गुरुङ अन्तिम १० मिनेट मैदानमा उत्रिए । ८० औं मिनेटमा कप्तान गुरुङले सुजल श्रेष्ठलाई प्रतिस्थापन गरेका थिए । 

फुटबल यात्रा

विद्यालय जीवनमा फुटबल खेल्न सिकेका अनिलले सहारा एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका हुन् । पहिलोपटक यु–१६ को उमेर समूहमा स्थान बनाएका अनिलले त्यसयता निरन्तर राष्ट्रिय टिममा स्थान बनाइरहे । अनिलले ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज, थ्रीस्टार, लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी, एनआरटी, भारतीय आइलिग क्लबबाट व्यावसायिक फुटबल खेलेको इतिहास छ । उनी अहिले मनाङ–मस्र्याङ्दी क्लबबाट व्यावसायिक खेलजीवन अघि बढाइरहेका छन् । उनले सन् २००७ अक्टोबर ८ मा विश्वकप छनोटअन्तर्गतको ओमानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसयता गुरुङले पछाडि फर्केर हेर्नुपरेको थिएन । राजधानीमा चार वर्षअघि भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए । त्यसयता उनले गोल गरेका छैनन् । 

१० नम्बर र फ्यान

लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबका समेत कप्तान रहेका ३१ वर्षीय गुरुङले सोमबार फिलिपिन्सविरुद्धको खेलअघिको पत्रकार सम्मेलनपछि सन्यासपछि आफ्नो जर्सी नम्बर १० र आफ्ना समर्थकलाई धेरै मिस गर्ने बताएका छन् । जर्सी नम्बर १० विश्व फुटबलमा लोकप्रिय नम्बर हो । जर्सी नम्बर १० विश्व फुटबलका महान हस्तीहरू ब्राजिलका पेले र अर्जेन्टिनाको डिएगो म्यारोडोनाले लगाएको जर्सी हो । 

साफ : अधुरो सपना

आफ्नो समयमा दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप जित्न नसक्नुलाई अनिल गुरुङ अधुरो सपनाको रूपमा सम्झन्छन् । सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिप जित्न नेपाल हकदार रहे पनि भाग्यले साथ नदिदा जित्न नसकिएको गुरुङ बताउँछन् । ‘नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्यो । हामी त्यो खेलमा एकदम अभागी सावित भयौं’, उनले भने, ‘मेरो करियरमा सबैभन्दा नराम्रो क्षण त्यही नै हो । त्यो बेलामा हाम्रो टोली एकदम राम्रो थियो, तर खेल हारेपछि संसार हारेजस्तो भान भएको थियो ।’

अनिलको कप्तानीमा नेपालले सन् २०१६ मा पहिलोपटक एएफसीको औपचारिक प्रतियोगिता जितेको हो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं