Date:2017/11/23 |Thursday

नेपाल पहिलोपटक सेमिफाइनलमा

Posted on: November 15, 2017 | views: 25 |

दिल तामाङ 

काठमाडौं । नेपाली युथ टोली मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि र बंगलादेशसँग भारत पराजित भएपछि नेपालले पहिलोपटक प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यसअघिका ६ संस्करणमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । मंगलबार बायोमास ओभलमा वर्षाले प्रभावित बनेर करिब ५ घण्टापछि २४ ओभरमा झारिएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित ग¥यो ।

४६ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमै जित हासिल गरेको हो । नेपालका लागि अनिल सिंहले अविजित २६ रन बनाए । भारतविरुद्धको खेलमा कप्तानी इनिङ्स खेलेका कप्तान दीपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए । आसिफ सेखले ४ तथा भीम सार्कीले ३ रन जोडे ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४५ रनमै अलआउट गरेको थियो । वर्षाले प्रभावित भएका कारण २४ ओभरमा झारिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ अलआउट हुन पुग्यो । मलेसियाका ओपनरद्वय सइद मुबारक २० र भिरन्दिप सिंह १० रनका साथ पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । उनीहरूको साझेदारी टुटेपछि खेल नेपालको पक्षमा देखियो । अन्तिम १२ रन बटुल्दा मलेसियाले सबै १० विकेट गुमायो । नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरी र शाहद आलमले २–२ तथा अनिल कुमार शाहले १ विकेट लिए । मलेसियाका ६ ब्याट्सम्यान खातै नखोली पभेलियन फर्किएका थिए ।

सोमबार बंगलादेशले मलेसियालाई फराकिलो रन अन्तरमा पराजित गरेपछि नेपालले सेमिफाइनल पुग्न मंगलबार मलेसियाविरुद्ध जितमात्र नभई भारी अन्तरले पराजित गर्नुपर्ने भएको थियो । यसअतिरिक्त भारत र बंगलादेशको खेलको नतिजा पनि कुर्नुपर्ने भएको थियो । आफ्नो फराकिलो जित र अर्काे खेलमा आफूअनुकूल नतिजा आएपछि नेपालको सेमिफाइनलको बाटो सहज बन्यो ।

समूहमा बंगलादेशले शतप्रतिशत जित निकाल्यो । दुई खेल जितेको नेपाल समूह उपविजेता तथा एक खेलमात्र जितेको भारत तेस्रो तथा समूहका सबै तीनै खेलमा पराजित आयोजक मलेसिया अंकविहीन बन्यो ।

अब नेपालले आफ्नो सेमिफाइनल खेल समूह ‘ए’ को विजेता अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । बिहीबार हुने अर्को सेमिफाइनलमा भने समूह ‘ए’को विजेता बंगलादेश र समूह ‘बी’को उपविजेता पाकिस्तान भिड्नेछन् ।

जितसँगै सेमिफाइनलमा पुग्न सफल भएपछि नेपाली टिमका प्रशिक्षक विनोद दासले राम्रो प्रदर्शनले नै टिम सफल भएको बताए । ‘हामीले प्रतियोगिताभर लगातार राम्रो प्रदर्शन गरिरहृयौँ । मिहिनेत गरेजस्तै राम्रो नतिजा पनि आइरहेको छ’, प्रशिक्षक दासले भने, ‘आजको स्थिति अलि सहज थिएन तर सबै योजनाअनुसार नै भयो ।’  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं