Date:2017/12/14 |Thursday

युएईसँग नेपाल पराजित

Posted on: December 07, 2017 | views: 25 |

हिमालय टाइम्स

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत भएको पहिलो खेलमा युएईसँग नेपाल ७ विकेटले पराजित भएको छ । बुधबार नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर पाँच बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

युएईका लागि अस्फाक अहमदले १९, रोहन मुस्तफाले ६२, रमिज साहजादले ३७, अविजित खेलेका सब्बरले ८१ र मोहम्मद उस्मानले १७ रन बनाएका थिए ।

यसअघि युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । भेषावकरले ८१ रन बनाए भने मल्लले ५४ रन बनाए । यस अतिरिक्त कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले ४ रन बनाए ।

बलिङतर्फ युएईका जाहुर खानले २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १÷१ विकेट लिए ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन–१ मै रहिरहने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेका कारण युएईसँगको खेल नेपालका लागि प्रतिष्ठामा मात्र सीमित देखिन्छ । नेपाल र युएईबीच दोस्रो खेल शुक्रबार हुनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं