Date:2017/12/14 |Thursday

एथ्लेटिको मड्रिड बाहिरियो

Posted on: December 07, 2017 | views: 45 |

स्पेन । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति अवे मैदानमा भएको समूहको अन्तिम खेलमा इङ्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएसँगै एथ्लेटिको यो वर्षको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लाग्यो । यो बराबरीले एथ्लेटिको यात्रा यहीँ सकिनुका साथै समूह विजेता बन्ने चेल्सीको बाटो पनि अवरुद्ध भयो ।

खेलमा दुवै गोल एथ्लेटिकोका खेलाडीले गरेका हुन् । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा एथ्लेटिकोका स्टेफान साविकले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । 

एथ्लेटिको सँगको बराबरीपछि चेल्सी समूह ‘बी’ को उपविजेतामा सीमित भयो । उसको ६ खेलबाट ११ अंक भएको छ ।

यस्तै राति नै भएको खेलमा एफके क्वाराब्यागलाई १–० ले हराएको रोमा भने समूह विजेता बन्यो । उसको पनि ११ अंक नै छ तर गोल अन्तरका आधारमा चेल्सीलाई उसले पछि पारेको हो ।

उता, च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गर्दै बार्सिलोनाको खातामा गोलसंख्या थपिदिए ।

जितपद्धि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भएको छ । यस्तै राति नै भएको खेलमा ओलम्पिआकोसलाई २–० ले हराएको युभेन्ट्सले समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ । अबे मैदानमा भएको खेलमा युभेन्ट्सलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरेका थिए । एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं