20th January | 2018 | Saturday | 7:19:06 AM

फाल्गुनन्द गोल्डकप सुनसरीलाई

  POSTED ON : 2018-01-01 05:23:40

फाल्गुनन्द गोल्डकप सुनसरीलाई

पाँचथर (रासस) । नवाँै रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरी–११ ले जितेको छ । 

फिदिममा आइतबार भएको फाइनल खेलमा मोरङ–११ लाई २–० गोल अन्तरले हराउँदै सुनसरी–११ ले उपाधि हात पारेको हो । उपाधिसँगै सुनसरी–११ ले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मोरङ–११ ले दुई लाख रुपैयाँ पाएको छ । 

सुनसरीका तर्फबाट तीर्थ बस्नेत र अनिल धामीले एक–एक गोल गरेका थिए । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका हेमन्त थापा मगर ‘म्यान अफ दी म्याच’ घोषित भए । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता सुनसरीका तीर्थ बस्नेत, उदयमान खेलाडी आकाश राना मगर, प्रतियोगिताका उत्कृष्ट खेलाडी हेमन्त थापा मगर, उत्कृष्ट प्रशिक्षक श्याम मानन्धर, उत्कृष्ट मिडल्फिडर मोरङका बुद्धिमान राई, उत्कृष्ट गोलकिपर सुनसरीका विवश चौधरी र उत्कृष्ट फरवार्ड सुनसरीका निशान लिम्बू घोषित भए । 

प्रतियोगिताको विजेता तथा उपविजेतालाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्का, नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नेपाली कांग्रेस जिल्ला सचिव रूपनारायण जवेगुलगायतले पुरस्कार प्रदान गरेका थिए । 

गत पुस ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।