26th April | 2018 | Thursday | 11:41:37 PM

नेपाल प्रहरी र सुदूरपश्चिम विजयी

  POSTED ON : Monday, 01 January, 2018 (12:27:59 PM)

नेपाल प्रहरी र सुदूरपश्चिम विजयी

काठमाडौं । राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत १६ औँ राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल प्रहरी क्लबले मध्यमाञ्चल विकास क्षेत्रलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा प्रहरीले मध्यमाञ्चललाई ६–२ गोलअन्तरले पराजित गरेको हो । 

प्रहरीको जितमा निर्मला विकले चार गोल गरिन् । उनले खेलको ११, १३, ३६ र ४९औँ मिनेटमा गोल गरेकी हुन् । त्यसैगरी अमृता जैसीले १९औँ तथा घिमकुमारी घलेले खेलको ७२आँै मिनेटमा गोल गरिन् । 

मध्यमाञ्चलका लागि सविता रानामगर र मिथिला कुसवारले क्रमशः २६ र ७९औँ मिनेटमा गोल गरेका थिए । 

सोही मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रको महिला टोलीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । 

सुदूरपश्चिमाञ्चलका लागि चन्द्रा भण्डारी र सिरसा कार्कीले दुई÷दुई गोल गरे । भण्डारीले खेलको ९ र ३७ औँ मिनेटमा तथा कार्कीले ८२ र ८९औँ मिनेटमा गोल गरेका थिए । 

आइतबारदेखि सुरु भएको उक्त च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले गरेका थिए । सोमबार त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र तथा सशस्त्र प्रहरी बल (एपिएफ) र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बीच हुनेछ ।