20th January | 2018 | Saturday | 7:20:53 AM

म्यानचेस्टर सिटीको विजय यात्रा रोकियो

  POSTED ON : 2018-01-02 08:20:28

म्यानचेस्टर सिटीको विजय यात्रा रोकियो

एजेन्सी

लन्डन । प्रिमियर लिगको अंक तालिकामा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको कीर्तिमानी विजय यात्रा टुंगिएको छ । १८ खेलसम्म लगातार जित हासिल गर्दै कीर्तिमान रचेको म्यानचेस्टर सिटी आइतबार राति क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिँदै विजय यात्रा अघि बढाउन असमर्थ भएको हो ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा सिटीले दबदबा कायम राखे पनि जित निकाल्न भने सकेन । क्रिस्टल प्यालेसले गोलका लागि दुई राम्रा अवसर पाएको थियो । खेलको अन्तिम मिनेटमा उसले पेनाल्टीको अवसर पाएपनि सिटीका गोलकिपरले उत्कृष्ट बचाऊ गरेका थिए । त्यस्तै एन्ड्रोस टाउन्सेण्डले १० यार्ड टाढाबाट गरेको प्रहार पनि जाली चुम्न सकेन ।

यो नतिजासँगै सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ भने सिटीजस्तो सशक्त टिमसँग प्यालेसले बराबरी खेल्दै महŒवपूर्ण १ अंक हासिल गरेको छ ।

आर्सनल पनि बराबरीमा

प्रिमियर लिगअन्तर्गत आर्सनल पनि वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । दुवैले १–१ को बराबरी खेले । आर्सनलका प्रशिक्षक आर्सन वेंगरको कीर्तिमानी ८११औं खेलमा टिमले जित निकाल्न भने सकेन ।

प्रिमियर लिगमा प्रशिक्षकले यतिधेरै म्याचको अगुवाइ गरेको यो एउटा कीर्तिमान हो । यसअघि म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा ८ सय १० खेल थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा आर्सनलका एलेक्सिस सान्चेजले गरेको प्रहार वेष्ट ब्रोमका जेम्स मिक्लिनलाई लागेर आत्मघाती गोलमा परिणत भएको थियो । तर आर्सनलको अग्रता लामो समय रहन सकेन । खेलको अन्त्यतिर जे रोड्रिगेजले घरेलु टोलीका लागि पेनाल्टीमार्फत गोल गर्दै नतिजा बराबरीमा टुंग्याए ।