23rd October | 2018 | Tuesday | 10:49:44 AM

चैत १७ देखि डिपिएल क्रिकेट

  POSTED ON : Friday, 05 January, 2018 (3:44:52 PM)

चैत १७ देखि डिपिएल क्रिकेट

हिमालय टाइम्स

काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैतमा हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करण निर्धारित मितिभन्दा दुई महिना ढिलोगरी चैतमा गराउने निर्णय सार्वजनिक गरेको हो ।

यसअघि आयोजकले माघ ५ गतेबाट प्रतियोगिता गराउने निर्णय गरेको थियो । तर, सोही मितिमा आइसिसी विश्वकप डिभिजन–२ प्रतियोगिता खेल परेकाले मिति सार्नुपरेको जनाइएको हो । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवासबहादुर शाहीका अनुसार डिपिएलको दोस्रो संस्करण चैत १७ गतेबाट अर्काे वर्षको वैशाख १ गते सम्म चल्नेछ ।

प्रतियोगितामा ६ शहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूमा टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, रूपेन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्स छन् । आयोजकका अनुसार हरेक टिममा १५–१५ खेलाडी रहनेछन् । त्यसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडीलाई टिममा अनिवार्य राख्नुपर्नेछ ।

प्रतियोगिताका लागि खेलाडीलाई तीन तह छुट्याएर दर्ता गरिनेछ । ग्रेड ‘ए’ मा राष्ट्रिय टिमबाट १५ खेल खेलिसकेका अथवा तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडी रहनेछन् । ग्रेड ‘बी’ मा बाँकी राष्ट्रिय खेलाडी, क्याम्पमा परेका खेलाडी र उमेर समूहको खेलाडी रहनेछन् । ग्रेड ‘सी’ मा तह नछुट्याइएको खेलाडी रहने छन् ।

प्रतियोगिताको विजेतालाई २५ लाख, उपविजेतालाई १० लाख तथा तेस्रो र चौथो हुने टोलीले क्रमशः ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार तथा ‘म्यान अफ दि सिरिज’ले एक थान टिभिएस अपाचे मोटरसाइकल प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको कुल लागत ३ करोड हुुने अनुमान गरिएको आयोजकको भनाइ छ । आयोजकले प्रतियोगितामा सहभागी एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ र नेपाली क्रिकेटमा महŒवपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट जनही १–१ लाखसहित सम्मानित गर्ने भएको छ ।

राउण्ड रोविन लिगको आधारमा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमबीच हुने प्रतिश्पर्धाको विजेता सोझै क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।


Views: 59