16th October | 2018 | Tuesday | 6:51:10 AM

खप्तड गोल्डकप-आयोजकको विजयी सुरुवात

  POSTED ON : Saturday, 06 January, 2018 (1:28:07 PM)

खप्तड गोल्डकप-आयोजकको विजयी सुरुवात

भीम चौधरी

धनगढी । सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकप शुक्रबारबाट धनगढीमा सुरु भएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको ए डिभिजन क्लब च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको हो ।

बाई पाएर क्वार्टरफाइनलमा पुगेको आयोजक टिम यो जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २६औं मिनेटमा च्यासल युवा क्लबका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेटमात्रै टिकेको थियो । दोस्रो हाफको ४०औं मिनेटमा सुदूरपश्चिम ११ स्पोर्टस क्लबका विनोद केसीले गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए । केसीले खेल सकिन ५ मिनेटअगाडि गरेको गोलले १–१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत निकालिएको हो । 

पेनाल्टी सुटआउटमा च्यासल क्लबबाट गोल हान्न आएका सुमन लामाको प्रहारलाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबका किपर जीवन भट्टराईले रोकेपछि आयोजक जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिम स्पोर्टस क्लबका नियमित गोलकिपर अमानत शेख घाइते भएपछि प्रतियोगिताको पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराईले च्यासल युवा क्लबका खेलाडीले गरेका धेरै प्रहारसमेत बचाएका थिए । भट्टराईले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार प्राप्त गरेका छन् । 

प्रतियोगितामा नेपालका र भुटानको एक गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उप विजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडलसहितको पुरस्कार प्रदान गरिनेछ । यस्तै व्भििन्न विधाका उत्कृष्टलाई १५÷१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एकजना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । 

यसअघि औपचारिक कार्यक्रमसहित प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन पूर्वधनगढी बजारमा ¥याली निकालिएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री पत्नी एवं पूर्वसांसद आरजु राणा देउवालाई आयोजकले २१ किलाको मालासमेत लगाएको थियो ।

राणाले खेल क्षेत्रको विकासका लागि आफू क्रियाशील रहने बताइन् । उद्घाटन कार्यक्रम आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो ।


Views: 57