26th April | 2018 | Thursday | 11:39:59 PM

आइडियललाई मल्पी कप

  POSTED ON : Tuesday, 09 January, 2018 (4:22:38 PM)

आइडियललाई मल्पी कप

हिमालय टाइम्स

काठमाडौं । आइडियलले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मल्पी इन्स्टिच्युटद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आइडियलले गीताञ्जलीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो ।

आइडियलका गौरव श्रेष्ठ, सागर स्याङतान, अमित लामा र सागर थापाले पेनाल्टी अवसरलाई सदुपयोग गरे । गीताञ्जलीबाट राजीव शाक्य, अर्पण कार्की र सुजन तामाङले गोल गरे । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको निर्धारित ७० मिनेटको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

उपाधिसँगै आइडियलले १ लाख नगद पुरस्कार पायो भने गीताञ्जलीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो । गीताञ्जलीका अर्पण कार्की सवोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा आइडियलका सुदीप मोक्तान, डिफेन्समा गीताञ्जलीका कृष्ण गुरुङ, मिडफिल्डमा आइडियलका सुरजज्यू ठकुरी र स्ट्राइकरमा आइडियलका अमित तामाङ उत्कृष्ट घोषित भए । गीताञ्जलीका आशिष तामाङले ‘गोल्डेन बुट’ पाए । अनुशासित टिमको उपाधि क्याम्पियनले हात पा¥यो भने बूढानीलकण्ठले मल्पी अवार्ड जित्यो ।

विजेतालाई नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री, ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जी ओ निल, मल्पी इन्टरनेसनल कलेजका चेयरम्यान राजेशप्रसाद श्रीवास्तव, मल्पी इन्स्टिच्युटकी प्रिन्सिपल जाना थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ७ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।