Date:2018/01/16 |Tuesday

एपीएफले उचाल्यो महिला लिगको उपाधि

Posted on: January 12, 2018 | views: 22 |

हिमालय टाइम्स 

काठमाडौं । राखेप च्याम्पियनसिपअन्तर्गत भएको १६औं राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उचालेको छ । सातदोबाटो स्थित एन्फा कम्लेक्समा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । 

फाइनल खेलको १७औं मिनेटमा गोल गर्दै एपीएफकी सावित्रा भण्डारीले टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । लगत्तै दुई मिनेटमा सरु लिम्बूले अर्को गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।

खेलको ३४औं मिनेटमा रूपा मगरको गोलबाट पुलिसले एपीएफसँगको अन्तर घटायो तर ७५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भण्डारीले एपीएफकोतर्फबाट जित सुनिश्चित गरिन् । जितपछि प्रतिक्रिया दिँदै एपीएफका प्रशिक्षक जनक सिंहले सम्पूर्ण टोलीका सदस्यको मिहिनेतले सफलता हात पारेको भन्दै खेलाडीको प्रशंशा गरे । उपाधिसँगै एपीएफले नगद २ लाख रुपैयाँ हात पारेको छ ।

त्यसअघि भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई ७–० ले पराजित गर्दै ६ अंकका साथ दोस्रो स्थान हात पारेको थियो । दोस्रो बनेको आर्मीले नगद १ लाख रुपैयाँ प्राप्त ग¥यो । आर्मीकी कप्तान कृष्णा खत्री एक्ललै ५ गोल गरिन् । उनले खेलको १५औं, ३१औं, ५३औं, ५६औं र ६३औं मिनेटमा गोल गरिन् भने शर्मिला थापामगरले ९औं र विमला चौधरीले २५औं मिनेटमा गोल गर्दै आर्मीलाई दोस्रो स्थानमा उकालेका थिए ।

एपीएफसँग पराजित पुलिसले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । उसले ५० हजार नगद हात पा¥यो । प्रतियोगिताको व्यक्तिगत विधातर्फ एपीएफकै खेलाडीको वर्चस्व रहृयो । एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भइन् । यस्तै एपीएफकै दीपा राई उत्कृष्ट मिडफिल्डर बनिन् । उत्कृष्ट गोल किपरको उपाधि पनि एपीएफकै एञ्जीला सुब्बाले हात पारिन् ।

उत्कृष्ट डिफेन्स आर्मीकी अञ्जलि वाइबा भइन भने उत्कृष्ट प्रशिक्षकमा एपीएफका जनक सिंह चुनिए । उत्कृष्ट बनेका सबैले समान २५–२५ हजार नगद प्राप्त गरे ।

सावित्राको कीर्तिमान

उत्कृष्ट फरवार्ड चयन भएकी एपीएफकी सावित्रा भण्डारीले प्रतियोगितामा धेरै लिग गोल गर्ने कीर्तिमान कायम गरेकी छन् । एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएकी भण्डारीले लिगमा कुल २९ गोल गरिन् । फाइनल खेलमा पनि भण्डारीको दुई गोलको मदतले एपीएफले उपाधि उचालेको हो ।

तस्वीरः उपाधि विजेता एपीएफ टोली, तस्वीर सौजन्यः एन्फा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं