20th September | 2018 | Thursday | 4:05:45 AM

श्रीलंकाको चुनौती सामना गर्दै नेपाल

  POSTED ON : Saturday, 13 January, 2018 (12:47:18 PM)

श्रीलंकाको चुनौती सामना गर्दै नेपाल

हिमालय टाइम्स

काठमाडौं । पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा शनिबार नेपालले श्रीलंकाको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजित नेपाललाई सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग जित्नैपर्ने दबाब छ । पाकिस्तान र दुबईमा संयुक्तरूपमा आयोजना भइरहेको विश्वकपमा नेपालका बाँकी तीन खेलहरू दुबईमा हुनेछन् । 

त्यसका लागि नेपाली टोली बिहीबारै दुबई पुगिसकेको छ । दुबई पुगेको नेपाली टोलीलाई त्यहाँस्थित नेपालीहरूले जितको शुभकामनासहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले यसअघि नतिजा आफ्नो पक्षमा नआए पनि बाँकी खेलहरू आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे । ‘पहिलो चोटी विश्वकपमा सहभागिता जनाएकाले हाम्रा लागि ठूलो चुनौती छ’, उनले भने, पहिलो दुई खेलमा अनुभव बटुलिसकेकाले तेस्रो खेलमा राम्रो नतिजाको अपेक्षा राखेका छौं ।’

यद्यपि सेमिफाइनको यात्रा तय गर्न नेपालले अब बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । शनिबार दुबईको अजमानस्थित अजमान ओभल क्रिकेट स्टेडियममा श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको नेपाली टोलीले १४ जनवरीमा अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारत र १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्नेछ ।

पाकिस्तानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले निराश बन्दै दुबई प्रस्थान गरेको हो । दुबईमा नेपाली टोलीलाई त्यहाँस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा विभिन्न नेपाली संघसंस्थाहरूले स्वागत गरेको थिए ।

स्वागत कार्यक्रमका संयोजक रवि शाहीले टोलीले विदेशी भूमिमा राम्रो प्रदर्शन गरेर सबै नेपालीको शिर उचो गर्न सकुन् भनि शुभकामना दिए । आफूहरू खेल हेर्न मैदान आउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।


Views: 23