18th September | 2018 | Tuesday | 10:12:59 PM

विश्वकप छनोट : अफगानिस्तानविरुद्ध आज नेपाललाई जित्नैपर्ने दबाब

हिमालय टाइम्स   POSTED ON : Saturday, 10 March, 2018 (11:39:18 AM) Views: 0

विश्वकप छनोट : अफगानिस्तानविरुद्ध आज नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं । विश्वकप छनोटमा शनिबार नेपालले तेस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ । दोस्रो चरण (सुपरसिक्स) मा पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्न नेपाललाई अफगानिस्तानविरुद्धको खेल जित्नैपर्ने अवस्था छ । नेपाल पहिलो खेलमा आयोजक जिम्बोवसँग १ सय १६ रनले तथा दोस्रो खेलमा स्कल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । अब सुपरसिक्समा स्थान बनाउँन नेपालले अफगानिस्तानसँगै सोमबार हुने हङकङविरुद्धको खेल पनि जित्नैपर्ने अवस्था छ । 

पाँचवटा टोली सम्मिलित समूह चरणमा एकअर्कासँग खेलिसकेपछि शीर्ष तीन स्थानमा रहने टोलीले सुपरसिक्समा स्थान बनाउँनेछन् । सुपरसिक्समा अर्को समूहसँगका टोलीसँग खेलिसकेपछि शीर्ष दुई स्थानमा रहने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउने प्रक्रिया रहेको छ । 

यता, यसअघि तीन खेल हारिसकेकोले सुपरसिक्समा स्थान बनाउँदै विश्वकपको यात्रा तय गर्न अफगानिस्तानलाई नेपालविरुद्ध गर या मरको स्थिति छ । अफगानिस्तानले समूह चरणको अन्तिम खेलमा नेपालमाथि जित निकालेरमात्रै पुग्दैन् । फराकिलो अन्तरले नेपाललाई पराजित गर्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । 

अफगानिस्तान पहिलो खेलमा स्कटल्याण्डविरुद्ध ७ विकेट, दोस्रो खेलमा जिम्बावेविरुद्ध २ रन र हङकङविरुद्ध तेस्रो खेलमा बिहीबार ३० रनले पराजित भएसँगै समूहको चौथो स्थानमा छ । रनरेटका आधारमा पछि परेको नेपाल अन्तिम तथा पाँचांै स्थानमा छन् । 

कप्तान पारस खड्काले नेपालको सुपरसिक्समा पुग्ने सम्भावना खुला रहेको बताएका छन् । स्कटल्याण्डसँग बिहीबार पराजित भएपछि प्रतिक्रिया दिँदै पारसले भने, ‘हाम्रो लागि सुपर सिक्स अझै खुल्ला छ । हामीले बाँकी रहेको दुई खेल जित्यौं भने हाम्रो सम्भावना कायम छ । हामीले एक पटकमा एक खेलको बारेमा मात्र सोच्नुपर्छ । अब अफगानिस्तान सँग खेल्दैछौं । लय विगारेको अफगानिस्तानका लागि यो खेल गर या मरको स्थिति हो । दुवै टिमका लागि यो खेल महŒवपूर्ण छ र हामीहामी हाम्रोतर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछौं ।’ 

नेपाल र अफगानिस्तान चिरपरिचित प्रतिद्वन्द्वी हुन् । सन् २०१५ को विश्वकपपछि अफगानिस्तानले एकदिवसीय टोलीको मान्यता पाएपछि नेपालको ऊ सँगको भेट रोकिएको थियो । सन् २०१५ मा पहिलोपल्ट विश्वकप खेलेको अफगानिस्तानले ५ खेलमा पराजय भोगेको थियो भने स्कटल्यान्डमाथि १ विकेटको विजय हात पारेको थियो । 

२०१८ जुनमा अफगानिस्तानले टेष्ट मान्यता पनि पाएको थियो । त्यसभन्दा अघि २०१४ मा यी दुई टोलीले अन्तिमपटक एकदिवसीय खेल खेलेका थिए । उक्त खेलमा अफगानिस्तान १०८ रनले विजयी भएको थियो ।

सन् २००४ देखि नेपाल र अफगानिस्तान पहिलोपटक आमने सामने भएका थिए । सो जोडेर नेपाल र अफगानिस्तान एकदिवसीयमा ७ चोटी आमने सामने भएका छन् । जसमा अफगानिस्तानले ६ खेल जितेको छ भने एक खेलमात्रै नेपालले जितेको छ । सन् २००४ मा भएको एसीसी ट्रफीमा मात्रै नेपालले अफगानिस्तानलाई हराउन सकेको छ । यस विश्वकप छनोटमा भने खराब लयमा रहेको अफगानिस्तानलाई पराजित गर्ने नेपालसामू मौका छ ।