24th April | 2018 | Tuesday | 4:20:51 AM

अपराजित रहँदै काठमाडौं प्लेअफमा

  POSTED ON : Saturday, 07 April, 2018 (4:29:52 PM)

अपराजित रहँदै काठमाडौं प्लेअफमा

हिमालय टाइम्स

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा स्थान बनाउने काठमाडौं गोल्डन्स पहिलो टोली बनेको छ ।

संघीय इकाई प्रहरी कार्यालयको मैदानमा शुक्रबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा लगातार चौथो जित हात पारेको हो । काठमाडौं प्रतियोगिताको एकमात्रै अपराजित टोली हो । 

बलियो टोली विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा भेटाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम बलमा छक्का प्रहार गर्दै काठमाडौंलाई जित दिलाएका थिए । ‘म्यान अफ द म्याच’ ज्ञानेन्द्रले अन्तिमसम्म खेल्दै टोलीलाई जित दिलाएका हुन् । ४० बलको सामना गरेका ज्ञानेन्द्रले नटआउट रहँदै ६८ रन जोडे । सो क्रममा उनले ४ छक्का र ५ चौका प्रहार गरे । 

सातौं नम्बरमा ब्याटिङ गर्न आएका काठमाडौंका भारतीय खेलाडी सन्नी पटेलले बिष्फोटक ब्याटिङ गर्दै काठमाडौंलाई जित नजिक पु¥याएका थिए । जितको औपचारिकता भने ज्ञानेन्द्रले छक्का प्रहार गर्दै पूरा गरेका हुन् । १८ औं ओभरको दोस्रो बलमा पुष्प थापालाई २४रनमा बसन्त रेग्मीले बोल्ड गरेपछि क्रिजमा आएका सन्नीले १० बलको सामना गरी २५ रन जोड्दै काठमाडौंलाई जितको नजिक पु¥याएका थिए । त्यस क्रममा उनले ३ छक्का र १ चौका प्रहार गरे । उनीसँगै काठमाडौंका भुपेन्द्र थापाले ३६ रन जोडेका थिए ।

बलिङमा विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, शुभम कामत र मन्जित श्रेष्ठले १–१ विकेट लिए । काठमाडौंका ओपनरद्वय अमित श्रेष्ठ (५) र सुबोध भाटी (१०) चल्न नसकेको अवस्थामा भुपेन्द्र र ज्ञानेन्द्रले इनिङ अगाडि बढाएका थिए । अन्तिम ओभरमा खेल रोमाञ्चक बनेको थियो । अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ६ बलमा ६ रनको आवश्यकता थियो । 

रामनरेश गिरीको पहिलो बल सन्नी पटेलले डट खेले, दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा ज्ञानेन्द्रको प्रहार मिडविकेटमा सौरभ खनालको थोरैमात्र अघिल्तिर झर्दा क्याच हुन सकेन । सो बलमा उनले दुई रन लिएका थिए । चौथो बल रोमाञ्चल रहृयो । ज्ञानेन्द्रले ब्याटले टचमात्रै गरेर रन लिन दौडिए । नजिकै रहेका फिल्डरले विकेटमा बल हाने तर उनको निशाना चुक्यो र त्यो बलमा पनि ज्ञानेन्द्र दोस्रो रन दौडिए । विकेटमा बल लागेको भए उनी रनआउट हुने निश्चित थियो । यतिकैमा खेल चलिरहँदा काठमाडौंलाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक भयो । पाँचौ बलमा ज्ञानेन्द्रले कुनै रन लिन सकेनन् । तर, अन्तिम बलमा रामनरेश गिरीले फुलटस बल फाले र ज्ञानेन्द्रले त्यसलाई बाउन्ड्री पार गराउँदै जित निश्चित गरे । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । उसका लागि हङकङका कप्तान बाबर हायातले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । ३३ बलको सामना गरेका हायातले ६७ रनको पारी खेल्दा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

यस्तै दीलिप नाथले ३३ रन जोडे । २७ बल खेलेका दीलिपले १ छक्का र ४ चौका प्रहार गरे । उनीसँगै पृथु बास्कोटाले ११ तथा अनिलकुमार शाह र बसन्त रेग्मीले १०–१० रन जोडे । कप्तान पारस खड्का ८ रनमा नटआउट रहे । 

विराटनगरले सुस्त सुरुवात गरेको थियो । पहिलो तीन ओभरको समाप्तिमा विराटनगरले ६ रनमात्रै जोड्न सकेको थियो । चौथो ओभरबाट आक्रमक बन्न खोजेका अनिल शाहलाई सातौं ओभरमा रासिद खानले ललितनारायण राजवंशीको हातबाट क्याच गराउँदै काठमाडौंलाई पहिलो सफलता दिलाएका थिए । 

दोस्रो विकेटका लागि क्रिजमा आएका विराटनगरका बाबर हायातले विराटनगरको स्कोर बढाउन मदत गरे । पहिलो बलमै चौका प्रहार गर्दै बाबरले रनको खाता खोलेका थिए । बाबरले १६ औं ओभरको तेस्रो बलमा अर्धशतक पुरा गरका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् । १८ औं ओभरको दोस्रो र तेस्रो बलमा सुबोध भाटीलाई लगातार दुई छक्का प्रहार गरेका बाबरले चौथो बलमा पनि छक्का प्रहार गर्न खोज्दा बोल्ड भएका हुन् । 

विराटनगरको मध्यक्रम भने चल्न सकेन । नवौं ओभरमा दीलिप नाथलाई ललित राजवंशीको बलमा भुपेन्द्र थापाले स्टम्पिङ गरेपछि क्रिजमा आएका शुभम कामतलाई पनि ललितले सहाब आलमको हातबाट खाता नै खोल्न नदिइ पवेलियन फर्काएका थिए । यस्तै, पवन सर्राफ २, बसन्त रेग्मी १० रनमै आउट भए । बलिङमा काठमाडौंका ललितनारायण राजवंशीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका ललितले १८ रन खर्चे । 

यस्तै, रासिद खानले २ तथा सुबोध भाटीले १ विकेट लिएका थिए । रासिद भने केही महँगा भए । उनले ४ ओभरमा ४३ रन खर्चेका थिए । प्रतियोगिता शनिबार बिहान महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया तथा दिउँसो टिम चौराह धनगढी र रूपन्देही च्यालेन्जर्सबीच खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । 

फोटो क्याप्सन ः काठमाडौं टोलीका सदस्यहरू । तस्वीर : हिटा ।