21st September | 2018 | Friday | 12:21:47 PM

झापालाई हराउँदै आर्मी फाइनलमा

उद्धव घिमिरे   POSTED ON : Sunday, 08 April, 2018 (6:31:25 PM)

झापालाई हराउँदै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डेकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले संकटा क्लब र थ्रीस्टारबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत् बायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिँदा झापाले पराजय व्यहोर्नु परेको हो । दर्शकको भारी समर्थन पाएको झापा ११ ले ४२ औं मिनेटमा गोल रक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले पाण्डेले गरेको हेड गोललाई रोक्न सकेनन् ।

क्वाटरफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई र झापाले आयोजक रिजालको मोरङ–११ लाई पारजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा जारी सिजनमा आर्मीसँग तेस्रो हार व्यहोर्न बाध्य भयो । झापाले यसअघि घरेलु मैदानमा आर्मीसँग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा पराजय व्यहोरेको थियो । त्यस्तै सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसँग झापा पछि परेको थियो । 

स्ट्राइकर कर्ण लिम्बू जम्न नसक्नु पनि झापाका लागि दुर्भाग्यपूर्ण बन्यो । उनलाई ८३ औं मिनेटमा खामिर गिल्सन कान्दङवाले पालो दिएका थिए । झापालाई जित निकाल्नका लागि उत्कृष्ट डिफेन्स दिलेन लोक्तामको अभाव खड्कियो ।

मोरङसँगको खेलमा चोटग्रस्त भएपछि लोक्ताम सेमिफाइनल खेलमा मैदान प्रवेश गर्न सकेनन् । गोल गर्नका लागि पाएका आधा दर्जनभन्दा बढी सुन्दर अवसरको सुदपयोग गर्न नसक्दा झापा विराट गोल्डकप आयोजकले प्रदान गरेको ३० हजार रूपैयाँ म्याच मनी बोकेर घर फर्कन बाध्य भयो । बारम्बार पोष्ट अट्याक गरिरहे पनि फिनिसिङ कमजोर हुँदा झापाले विपक्षी बार भत्काउन सकेन । त्यसैगरी आर्मीले पनि धेरै गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । 

झापाका प्रशिक्षक प्रवेश कटवालले गोल गर्नका लागि पाएका राम्रा अवसरमा खेलाडी चुक्दा आर्मीसँग सिजनमा तेस्रो हार व्यहोर्नु परेको प्रतिक्रिया दिए । उनले रेफ्रीको गलत निर्णय पनि हारको मुख्य कारण बनेको बताए । ‘थ्रो दिनु पर्ने बललाई रेफ्रीले कर्नर प्रहारको मौका दिए,’ कटवालले भने, ‘त्यही कर्नर हाम्रा लागि अभिसाप बन्यो ।’

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले झापाका विदेशी खेलाडीलाई विशेष ‘मार्किङ’ गर्ने रणनीति सफल हुँदा जित हात परेको बताए । ‘खेलाडी मार्किङ सवालमा हाम्रो रणनीति सफल भयो,’ उनले भने, ‘खेलाडीले ड्युटी पूरा गर्दै उत्कृष्ट लय समाउँदा नतिजा हाम्रो पक्षमा आयो ।’ खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका कप्तान भरत खवासले १० हजार नगद पुरस्कार पाए ।


Views: 0