13th December | 2018 | Thursday | 12:10:53 PM

चौथो चरणमा बद्रिलाल नेपाली पराजित

  POSTED ON : Sunday, 15 April, 2018 (5:36:07 PM)

चौथो चरणमा बद्रिलाल नेपाली पराजित

हिमालय टाइम्स

काठमाडौं । काठमाडौं ओपन अन्तर्राष्ट्रिय जिएम चेस प्रतियोगिताको चौंथो चरणमा नेपाली खेलाडी बद्रिलाल नेपाली पराजित भएका छन् । शनिबार भएको तेस्रो चरणमा बद्रिले आफूभन्दा उच्च वरियताकी रोमानियाकी इन्टरनेशनल मास्टर एलिना लामीलाई हराएका बद्रिले चौथो चरणमा भारतका इन्टरनेशनल मास्टर हर्ष भारताकोटीसँग पराजय व्यहोरे । चौथो चरणको समाप्तिसम्ममा बद्रिले तीन अंक बनाएका छन् ।

चौथो चरणसम्म आइपुग्दा इजरेलका ग्रिनफिल्ड एलनले चार अंकका साथ आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । तेस्रो चरणमा नेपाली खेलाडी रूपेश जयसवाललाई हराएका एलनले चौंथो चरणमा भारतका निरञ्जन नाभलगुन्डलाई हराए । अजरबैजानका ग्राण्डमास्टर कास्पारोभ सेर्गीले चौथो चरणमा भारतका अंकित गाज्वालाई हराएर चार अंक बनाएका छन् ।

रूसका अलेक्सान्दर फोमिनी र भारतका सन्दिपन चन्दाबीचको खेल बराबरी भएपछि दुवै ग्राण्डमास्टरले अंक बाँडेका छन् । तेस्रो चरणमा फोमिनीले भारतका शुभ्यान कुन्डुलाई हराएका थिए भने सन्दिपनले नेपालका क्यान्डिडेड मास्टर विवेक थिङलाई हराएका थिए । उनीहरू दुवैले ३.५ अंक बनाएका छन् । भारतका प्रिन्स बजाज र हर्षबद्र्धन जिबीले बराबरीमा अंक बाँडेका छन् । तेस्रो चरणमा हर्षबद्र्धनले  स्पेनका लानेजा भेगा मार्कोसलाई हराएका थिए भने प्रिन्स बजाजले नेपाली क्यान्डिडेड मास्टरलाई पराजित गरेका थिए ।

भारतका दीपसेन गुप्ताले चांैथो चरणमा भारतका राहुल गुरुङलाई हराएर कुल साँढे तीन अंक बनाएका छन् । तेस्रो चरणमा पराजित भएका नेपाली खेलाडी रूपेश जयसवाल र मनिष हमालले चांैथो चरणमा जित हात पारेका छन् । चौथो चरणमा रूपेशले भारतका शुभम् शुक्लालाई हराए भने फिडेमास्टर मनिषले नेपालकै भगवतीप्रसाद शर्मालाई पराजित गरे ।

मंगलबारसम्म चल्ने प्रतियोगितामा ११ ग्राण्डमास्टरसहित १ सय ६६ खेलाडीको सहभागिता छ । १० लाख कुल पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष २० स्थानसम्मकाले नगद पुरस्कार पाउनेछन् ।


Views: 15