23rd May | 2018 | Wednesday | 4:10:06 AM

मनाङ दमक गोल्डकपको फाइनलमा

हिमालय टाइम्स   POSTED ON : Thursday, 10 May, 2018 (4:06:24 PM)

मनाङ दमक गोल्डकपको फाइनलमा

दमक । नेपाल आर्मी क्लबलाई टाईब्रेकरमा पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो । यससँगै उपाधिका लागि मनाङले अब नेपाल पुलिस क्लबको सामना गर्नेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाइसकेको छ । 

२८ औं मिनेटमा आर्मीका सुमन अर्यालले प्रहार गरेको भलीलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट पञ्च गर्दै बचाएका थिए । त्यसको दुई मिनेटमै आर्मीले अग्रता लिएको थियो । टंक बस्नेतले हेडमार्फत् गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा नवयुग श्रेष्ठले बराबरी गोल गर्ने मौका गुमाएका थिए । दोस्रो हाफमा मनाङ १–० गोलअन्तरले पछि परेपनि दोस्रो हाफको सुरुवातमै उसले बराबरी गोल फर्कायो । ४७ औं मिनेटमा दीपक राईले मनाङका लागि बराबरी गोल फर्काएका थिए । 

७१ औं मिनेटमा विवेक बस्नेतको क्रसमार्फत् शशक्त प्रहार गर्दै आर्मीलाई फेरि अग्रता दिलाउने अवसर पाएपनि मनाङका गोलरक्षक श्रेष्ठले त्यो पूरा हुन दिएनन् । ८६ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका जर्जप्रिन्स कार्कीले प्रहार गरेको कर्नर सिधै श्रेष्ठको हातमा गएको थियो । निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि थपिएको समयमा पनि कुनै गोल हुन सकेन र खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।

मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच भए । उनले नगद ११ हजार हात पारे । प्रतियोगितामा आयोजक दमक नगरपालिकासहित झापा ११, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, रूपन्देही ११, सरस्वती र मदन भण्डारी स्पोर्टस् एकेडेमी गरी १० टोलीको सहभागिता रहेको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछन् । गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । साथै, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ११ हजार प्राप्त गर्नेछन् ।