18th October | 2018 | Thursday | 7:05:54 AM

पुलिस दमक गोल्डककपको च्याम्पियन

हिमालय टाइम्स   POSTED ON : Saturday, 12 May, 2018 (2:02:38 PM)

पुलिस दमक गोल्डककपको च्याम्पियन

झापा । नेपाल पुलिस क्लब दमक गोल्डकपको च्याम्पियन बनेको छ । दमक बहुमुखी क्याम्पसको मैदानमा शुक्रबार भएको फाइनलमा मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिसले यस वर्षको पहिलो उपाधि जितेको हो । मनाङ भने यस वर्ष लगातार दोस्रोपटक फाइनलमा चुकेको छ । वैशाख दोस्रो साता इलाममा सम्पन्न म्याइभ्याली गोल्डकपको फाइनलमा पनि मनाङ १–० गोलअन्तरले नै फाइनलमा पराजित भएको थियो । पुलिसको जितमा रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । मनाङका गोल रक्षक विशाल राई अघि बढेका बेला रवि पासवानको क्रसमा रेजिनले डिबक्स बाहिरबाट हेडमार्फत् निर्णायक गोल गरेका थिए । 

विजेता पुलिसले नगद १३ लाख ११ हजार तथा उपविजेता मनाङले ६ लाख ११ हजार हात पारे । बेष्ट मिडफिल्डर मनाङका सुजल श्रेष्ठ भए । बेष्ट स्ट्राइकर नेपाल पुलिस क्लबका रेजिन सुब्बा घोषित भए । उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका अनन्तराज थापा घोषित भए । विधागततर्फका सवै उत्कृष्टले जनही नगद २५ हजार हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका नवयुग श्रेष्ठ, एपिएफका हरि कार्की र मदन भण्डारीका म्याक्स अलावरले सयुंक्तरूपमा प्राप्त गरे । 

यस्तै मोष्ट भ्यालुएवल प्लेयर पुलिसका किरण चेम्जोङ भए । उनले मोटरसाइकल हात पारे । नेपाली एक नम्बर गोलकिपर यस सिजनमा मात्रै पुलिससँग आबद्ध भएका हुन् । उनले माल्दिभ्स र भारतमा व्यवसायिक लिग खेलिसकेका छन् । 

प्रतियोगितामा आयोजक दमक नगरपालिकासहित झापा ११, थ्रीस्टार, मनाङ–मर्स्याङदी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, रूपन्देही ११, सरस्वती र मदन भण्डारी स्पोटर््स् एकेडेमी गरी १० टोलीको सहभागिता रहेको थियो ।

पुलिस र मनाङका खेलाडी प्रतिस्पर्धा गर्दै । 


Views: 3