18th August | 2018 | Saturday | 12:40:51 PM

स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको वर्चश्व

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:01:12 PM)

स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको वर्चश्व

काठमाडौं । आगामी जेठ ३ गते काठमाडौंमा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेट खेलका खेलाडीहरू र प्रशिक्षकले वर्चश्व जमाएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार काठमाडौंमा सार्वजनिक गरेका विभिन्न चार विधाका मनोनयनमा क्रिकेटले वर्चश्व पाएको हो ।

वर्ष २०७४ मा नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएकाले पनि क्रिकेटका प्रशिक्षक तथा खेलाडीहरूको अवार्डमा वर्चश्व रहेको हो । एनएसजेएफले वर्षभरि पाएको चर्चा र नेपाललाई अन्तर्राष्ट्रिय उपलब्धि दिलाएको आधारमा खेलाडी मनोनयन सार्वजनिक गर्ने गरेको खेलाडी छनोट समितिका संयोजक तथा मञ्चका सचिव राजु घिसिङले बताए । अवार्ड दिइने ८ मध्ये ५ विधामा खेलाडी मनोनयन गरिन्छ । बाँकी तीन विधा लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा जेठ ३ गते अवार्डकै दिन हुने मञ्चले जनाएको छ ।

सार्वजनिक भएका ५ वटै विधामा क्रिकेटका ३ खेलाडीसहित २ प्रशिक्षक मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपुल च्वाइस् अवार्डमा क्रिकेटको मनोनयन परेको हो । पिपुल्स् च्वाइस् अवार्डको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा क्रिकेटका सन्दीप लामिछाने पर्न सफल भएका थिए । 

मञ्चले सोमबार काठमाडौंमा सार्वजनिक गरेको अन्य ४ विधामध्ये सन्दीप वर्ष पुरुष र युवा खेलाडीको मनोनयनमा पनि पर्न सफल भए । यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्का वर्ष पुरुषको मनोनयनमा परेका छन् भने सन्दीपसँगै अर्का क्रिकेटर दीपेन्द्रसिंह ऐरी वर्ष युवा खेलाडीको प्रतिस्पर्धामा छन् । त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा तथा यू–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोददास परेका छन् ।

वर्षका उत्कृष्ट पुरुष तथा युवा खेलाडीको मनोनयनमा परेका सन्दीपले अघिल्लो वर्ष नेपालबाट राष्ट्रिय टिमबाट ३५ सहित उमेर समूह गरी कुल ८४ विकेट लिएका थिए । आइसिसी एसिया यु–१९ विश्वकप छनोटमा उनले एकै प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान राखे भने नामिवियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू मा १७ विकेट लिँदै उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कप्तान पारस खड्काको कप्तानीमा नेपालले गतवर्ष वान डे इन्टरनेशनलको मान्यता पाएको थियो । वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा उनले १ शतक र १ अर्धशतकसहित २ सय ४१ रन बनाएका थिए । यस्तै आइसिसी विश्वकप छनोटमा २ सय ३१ रन रन तथा यसैवर्ष घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महŒवपूर्ण योगदान दिएका कारण उनी वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका हुन् ।

युवा खेलाडीको मनोनयनमा रहेका दीपेन्द्रसिंह ऐरीले अघिल्लो वर्ष एसिसी यू–१९ एसिया कपको सेमिफाइनल नेपाली टोली पु¥याउँदा कप्तानी गरेका थिए । उक्त प्रतियोगितामा भारतविरुद्ध जित दिलाउन उनले ८८ रन जोडेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसअघि नेपालले भारतलाई कुनैपनि स्तरमा हराउन सकेको थिएन् । आइसिसी विश्वकप छनोटमा ऐरीले १ अर्धशतकसहित १ सय ४३ रन बनाएका थिए भने विश्वकप छनोटमा वान डे इन्टरनेशनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्धशतक बनाएर उनले म्यान अफ द म्याच प्रदर्शन गरेका थिए ।

वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका जगत टमाटाले नेपाललाई ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका थिए भने उनको प्रशिक्षकत्वमा नेपालले २०७४ सालका खेलेको १५ खेलमध्ये ६ खेलमा जित हात पारेको थियो । यस्तै यू–१९ का प्रशिक्षक विनोद दासले नेपाललाई एसिसी यू–१९ को उपाधि दिलाउनुका साथै यू–१९ विश्वकपमा छनोट गराएका थिए । भारतविरुद्ध नेपालले जित निकाल्दा पनि दासले नै प्रशिक्षकत्व निभाएका थिए ।

वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पारस र सन्दीपसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की छन् । धामीले अघिल्लो वर्ष योनेक्स सन्राइज् पाकिस्तान इन्टरनेशनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्सको उपाधि जितेका थिए भने योनेक्स सन्राइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्समा उपविजेता र मेन्स सिंगल्समा क्वार्टफाइनल पुग्ने एक्लो नेपाली बनेका थिए ।

यस्तै जुडोका श्रेष्ठले थाइल्यान्ड इन्टरनेशनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुका साथै बंगलादेशमा भएको बिकेएसपी जुडो च्याम्पियनसिप पनि स्वर्ण जितेका थिए । राखेप च्याम्पियनसिप र अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा उनी स्वर्ण पदकसहित सर्वोत्कृष्ट खेलाडी भएका थिए । गल्फका कार्कीले भुटान ओपन गल्फको उपाधि जितेका थिए । यस्तै उनले नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक जित्नुका साथै राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्णपदक जितेका थिए ।

यस्तै, युवा वर्ष खेलाडीमा फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् । बक्सिङकी विमलाले इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य –राखेप च्याम्पियनसिप र गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक जितेकी थिइन भने एसियाली खेलकुदको छनोटमा पहिलो भएकी थिइन् ।

ब्याडमिन्टनकी गौचन योनेक्स सन्राइज पाकिस्तान इन्टरनेशनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्स्को उपाधि विजेता हुन् । उनी धामीसँगै नेपाल इन्टरनेशनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्समा उपविजेता बनेकी थिइन् । आर्चरीकी ज्ञानु अवालेले बंगलादेशमा भएको दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा तिलक पुनमगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक जितेकी थिइन् । उनले ३ पल्ट राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् ।

फुटबलकी सावित्रा भण्डारीले अघिल्लो वर्ष भएको मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल गरेकी थिइन् । प्रधानसेनापति कपमा एपिएफलाई च्याम्पियन बनाउ“दा उनले ५ खेलबाट २८ गोल गरेकी थिइन् । टेबुलटेनिसकी श्रेष्ठले अघिल्लो वर्ष वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक जितिन भने सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन बन्दै कीर्तिमान कायम राखेकी थिइन् ।

उत्कृष्ट प्रशिक्षकमा फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् । अघिल्लो वर्ष नेपालले साफ यू–१८ च्याम्पियनसिपको विजेता बन्दा गुरुङ टिमका प्रशिक्षक थिए । यस्तै, मनाङ–मस्र्याङ्दीलाई उनले दुहवी गोल्डकप, इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता बनाएका थिए ।

इन्डियन ओपन बक्सिङमा पुनम रावल र बिमला श्रेष्ठले कांस्य पदक जित्दा बक्सिङका प्रकाश थापामगर प्रशिक्षक थिए । ब्याडमिन्टनमा अघिल्लो वर्ष नेपालले योनेक्स सन्राइज पाकिस्तान इन्टरनेशनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता बन्दा नेपाली टिमका मुख्य प्रशिक्षक जयन्तकुरमा श्रेष्ठ थिए । यस्तै, उनले योनेक्स सन्राइज नेपाल सिरिजमा नेपाललाई १ रजत र १ कांस्य पदक दिलाएका थिए ।

पिपुल्स् च्वाइस् अवार्डका लागि भने सन्दीपसँगै फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतीमा शेर्पा र टेबुल टेनिसका स्यान्टु श्रेष्ठको नाम यसअघि नै घोषणा भइसकेको छ । अवार्ड आर्मी अफिसर्स् क्लब, भद्रकालीमा बिहीबार आयोजना हुँदैछ । उत्कृष्ट पुरुष, महिला, पिपुल्स् च्वाइस् तथा प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट हृयाम्पर पाउने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।