18th August | 2018 | Saturday | 12:40:55 PM

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:03:58 PM)

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेसँग ५–४ गोलले पराजित हुँदै बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको हो । लेभान्टेका इम्यानुएल बोटेङले हृयाट्रिक गर्दै बार्सिलोनाको अपराजित रहने लक्ष्य पूरा हुन दिएनन् । त्यस्तै उसका इनिस बर्धीले दुई गोल गरेका थिए । बार्सिलोनाका फिलिप्पे कौटिन्होले पनि हृयाट्रिक गरेका थिए भने लुइस स्वारेजले एक गोल फर्काएका थिए ।

खेलको नवौं मिनेटमै बोटेङको गोलबाट लेभान्टेले अग्रता लिएको थियो । ३० औं मिनेटमा बोटेङले दोस्रो गोल गर्दै लेभान्टेलाई २ – ० को अग्रता दिलाएका हुन् । खेलको ३८ औं मिनेटमा बार्सिलोनाका लागि कौटिन्होले पहिलो गोल गरे । 

दोस्रो हाफको सुरुवाती १० मिनेटभित्र लोभेन्टेले आक्रामक खेल खेल्यो । घरेलु टोलीले लगातार तीन गोल गर्दै बार्सिलोनाविरुद्ध फराकिलो अग्रता बनाएको थियो । खेलको ४६ औं मिनेटमा बर्धीले गोल गर्दै लेभान्टेलाई ३ – १ को अग्रता दिलाए । ४९ औं मिनेटमा बोटेङले व्यक्तिगत तेस्रो गोल गर्दै हृयाट्रिक पूरा गर्दा लेभान्टेको अग्रता ४ – १ मा पुग्यो । खेलको ६५ औं मिनेटमा बर्धीले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई ५ – १ को अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको ५९ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५ – २ को स्थितिमा ल्याएका थिए । ६४ औं मिनेटमा कौटिन्होले हृयाट्रिक पूरा गर्दा खेल ५ – ३ को अवस्थामा पुगेको थियो । त्यसपछि खेलको ७१ औं मिनेटमा स्वारेजले एक गोल गरेपनि बार्सिलोना लेभान्टेसँग ५ – ४ ले पराजित हुन पुग्यो ।

पाँच खेल अगावै ला लिगाको उपाधि जितेको बार्सिलोनाले अन्तिम एक खेल बाँकी रहँदा लिगमा ९० अंक जोडेको छ । बार्सिलोनाविरुद्ध उत्कृष्ट जित निकालेको लेभान्टे ४६ अंक जोडेर लिगको १५ औं स्थानमा उक्लिएको छ ।