18th August | 2018 | Saturday | 12:39:41 PM

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको अर्को छलाङ

हिमालय टाइम्स   POSTED ON : Thursday, 17 May, 2018 (3:13:05 PM)

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको अर्को छलाङ

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को छलाङ मार्दै ‘विश्व–११’ टिममा सामेल भएका छन् । वेस्टइन्डिजविरुद्ध टि–ट्वान्टी क्रिकेट म्याच खेल्न तयार पारिएको ‘विश्व–११’ मा उनी सामेल भएका हुन् । उनी विश्व–११ मा सामेल हुने पहिलो नेपाली खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था ‘आइसिसी’ले सन्दीप विश्व–११ टोलीमा परेको जानकारी बुधबार दिएको हो । गत वर्ष आँधीका कारण भत्किएका डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले ३१ मेका दिन बेलायतको प्रख्यात लर्डस् क्रिकेट मैदानमा वेस्टइन्डिज र विश्व–११ बीच विशेष खेल आयोजना हुन लागेको हो ।

यसअघि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) मा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका थिए । उनी जारी आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दैछन् ।

विश्व–११ मा विभिन्न मुलुकका क्रिकेटर समावेश छन् । सो टोलीमा उनको सहभागिताले धेरै ठूलो अनुभव र आत्मविश्वास आर्जन गर्ने विज्ञहरू बताउँछन् ।