18th August | 2018 | Saturday | 11:34:31 PM

ए डिभिजन लिगको मिती घोषणा

हिमालय टाइम्स   POSTED ON : Thursday, 17 May, 2018 (3:26:22 PM)

ए डिभिजन लिगको मिती घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को नयाँ कार्य समितिले सहिद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ । निर्वाचित भएको दुई सातापनि बित्न नपाउँदै पूर्व घोषणा बमोजिम नयाँ कार्यसमितिले चारवर्ष देखि रोकिएको लिग आगामी असोज १३ गतेबाट गर्ने निर्णय गरेको हो । ‘ए डिभिजनका क्लबहरुसँगको छलफल पश्चात लिग आगामी असोज १३ देखि माघ १६ सम्म सञ्चालन गर्ने निर्णय भएको एन्फा अन्तर्गतको लिग कमिटीका अध्यक्ष विज्ञानराज शर्माले जानकारी दिए । पूर्व राष्ट्रिय खेलाडी तथा एआईजी समेत रहेका शर्माको अध्यक्षतामा बुधबार एन्फामा बसेको कमिटीको बैठकले लिगको मिती घोषणा गरेको हो । लिगमा १४ वटा क्लबको सहभागिता रहने पनि एन्फा लिग कमिटीले जनाएको छ ।

नेपालको शीर्ष डिभिजनको लिगमा थ्रीस्टार क्लब, मनाङ् मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यु रोड टिम एनआरटी, ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउनेछन् । यस्तै तीन विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सहित जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, मच्छिन्द्र र संकटा क्लबले पनि लिगमा सहभागिता रहनेछ । कमिटीलेसबै क्लबलाई बढीमा ३५ र कम्तिमा १८ खेलाडी अनुबन्धको स्वीकृती दिएको छ । प्रत्येक टोलीले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र खेलमा बढीमा तीन जनालाई मैदानमा उतार्न सकिने प्रावधान राखिएको शर्माले बताए ।