22nd September | 2018 | Saturday | 6:32:26 PM

रियल मड्रिड छाड्दै रोनाल्डो

एजेन्सीं   POSTED ON : Friday, 08 June, 2018 (1:26:29 PM)

रियल मड्रिड छाड्दै रोनाल्डो

मड्रिड । क्लबसँगको खटपटपछि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल मड्रिड छाड्ने मनस्थितिमा पुगेका छन् । पोर्चुगलका मिडियाका अनुसार रोनाल्डोले आफ्नो नयाँ सम्झौताअनुसारका माग पूरा नभए यसै समरमा क्लब छाड्ने मनस्थिति बनाएका छन् । 

रोनाल्डोले नयाँ सम्झौता बमोजिम आफ्नो तलबवृद्धिलगायत मागहरू राखेका थिए तर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भने सार्वजनिक रूपमै उनका मागहरू पूरा गर्न नसकिने खालका भएका उल्लेख गरेका छन् । रोनाल्डोका मागहरू विस्तृतमा नखुलाए पनि उनका मागहरूविरुद्धमा रियल मड्रिड सन्तुष्ट नरहेको खबर पोर्चुगलको अखबार मार्काले जनाएको छ । 

गत मंगलबार क्लबका प्रमुख कार्यकारी अधिकृत जोसे एञ्जल स्यान्चेज र रोनाल्डोको एजेन्ट जोर्गी मेन्डेससँग पनि यसैविषयमा लामो कुराकानी भएको थियो । उक्त कुराकानी पनि निष्कर्षमा नपुगेको स्यान्चेजले जनाएका छन् । आफूहरूले रोनाल्डोलाई कुनै मूल्यमा पनि गुमाउन नचाहेको तर पछिल्लो समयमा उनले क्लबलाई अप्ठारो पार्ने माग राखेको प्रतिक्रिया उनको थियो । दुई साताअघिमात्रै रोनाल्डोले रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । 

च्याम्पियन्स लिग जिताएसँगै प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका थिए । रोनाल्डो र जिदानबीच सम्बन्ध राम्रो थियो । रोनाल्डोले क्लब छाड्ने चाहना राख्नुको एउटा कारक त्यो पनि भएको मिडियाले उल्लेख गरेका छन् । 

म्यड्रिड छोडेपछि रोनाल्डोले प्रिमियर लिग, इटालियन सिरी ए अथवा लिगा वानमध्ये एउटा लिग छनोट गर्ने समाचारमाध्यमको दाबी छ । रोनाल्डो यसअघि म्यानचेस्टर युनाइटेडबाट २००९ मा मड्रिड आएका थिए । रोनाल्डोको रिलिज क्लब १ अर्ब युरो छ । रियल मड्रिडले सधैं उनलाई बेच्न अनिच्छा पैदा गरेका बारे उनी क्लबबाट बाहिरिने खबरले धेरैलाई आश्चार्यमा पारेको छ ।


Views: 0