21st August | 2018 | Tuesday | 3:25:48 PM

तीन खेलाडी भुटानी क्लबमा आबद्ध

  POSTED ON : Sunday, 10 June, 2018 (8:10:13 PM)

तीन खेलाडी भुटानी क्लबमा आबद्ध

   

हिमालय टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीन खेलाडी भुटानी क्लबमा अनुबन्ध भएका छन् । फरवार्डद्धय नवयुग श्रेष्ठसँगै जर्जप्रन्स कार्की र डिफेन्डर जितेन्द्र कार्की पारो फुटबल क्लबसँग आबद्ध भएका हुन् । उनीहरू शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि पारो युनाइटेड एफसीविरुद्ध हुने दुई प्लेअफ खेलका लागि नेपाली खेलाडीलाई पारो एफसीले बोलाएको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु लिग खेलिरहेका तीनै खेलाडीले पारिश्रमिककाबारेमा भने केही खुलाएनन् । 

भुटान प्रस्थान गर्नुअघि नवयुगले हाललाई तीनै खेलाडीले प्लेअफका लागि मात्र खेल्ने सम्झौता गरेको र त्यो समझदारीमा थपिन पनि सक्ने उल्लेख गरे । प्लेअफको पहिलो खेल जुन १३ र दोस्रो लेग १५ जुनमा हुँदैछ ।  प्लेअफका विजेता भुटानको राष्ट्रिय लिगमा छनोट हुनेछ ।

नेपालाई बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद   (साग) मा स्वर्ण पदक दिलाउँदाका मुख्य खेलाडी नवयुग पहिलोपटक विदेशी लिग खेल्न लागेका हुन् । प्रतियोगितामा शतप्रतिशत दिँदै आगामी दिनका लागि बाटो खोल्ने उनले बताए । यस्तै, जर्जप्रिन्सले भने गत वर्षमात्रै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । एएफसी एसियन कपअन्तर्गत ताजिकिस्तानविरुद्धको घरेलु मैदानमा भएको खेलमा उनले स्थान बनाएका थिए । उनको पनि यो पहिलो विदेशी लिग अनुभव हो ।