19th November | 2018 | Monday | 4:07:14 AM

सवा ८ बजेदेखि फुटबल महाकुम्भ : रूस र साउदी अरेबियाबीच पहिलो प्रतिस्पर्धा

हिमालय टाइम्स   POSTED ON : Thursday, 14 June, 2018 (8:54:00 PM)

सवा ८ बजेदेखि फुटबल महाकुम्भ : रूस र साउदी अरेबियाबीच पहिलो प्रतिस्पर्धा

 काठमाडौं । फुटबल दर्शकका लागि विश्वकप  फुटबल हेर्ने चार वर्षको प्रतीक्षा समाप्त भएको छ । आजबाट २१औं संस्करणको विश्वकप सुरु हुँदैछ ।

८० हजारभन्दा बढी क्षमता रहेको रूसको मुख्य लुजनिकी स्टेडियममा यस संस्करणको उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा तीन अन्तर्राष्ट्रिय सेलीब्रेटीहरूले प्रस्तुति दिने फिफाले यसअघि नै जनाइसकेको छ ।

नेपाली समायानुसार साँझ सवा ८ बजेदेखि सुरु हुने उद्घाटन समारोह ब्रिटेनका गायक रोबी विलियम्सको विशेष प्रस्तुति रहनेछ । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिने भएकी छिन् । यस्तै,फुटबल दर्शकहरूलाई मन्त्रमुग्ध पार्न दुईपटकका विश्वकप विजेता ब्राजिलका रोनाल्डोको पनि विशेष प्रस्तुति हुने फिफाले जनाएको छ । 

आधा घण्टाको उद्घाटन समारोहपछि पौने ९ बजेबाट सुरु हुने रूस र साउदी अरेबियाबीचको पहिलो खेलले विश्वकपको उद्घाटन गर्नेछ । विश्वकपको इतिहासमा उद्घाटन खेलमा आयोजक राष्ट्रले पराजय भोग्नु परेको छैन् । सोही परम्परा कायम राख्न तथा घरेलु दर्शकलाई खुशी दिलाउन पनि रूस उद्घाटन खेलमा जित हात पार्ने योजनामा हुनेछ । 

तर, रूसको पछिल्लो अवस्था भने निकै नाजुक हो । विश्वकप खेल्ने टोलीभन्दा फिफा वरियतामा रूस पुछारमा छ । सन् २००८ यता रूसले कुनै पनि ठूलो प्रतियोगिताको समूह चरण पार गर्न सकेको छैन । रूसका मुख्य खेलाडी स्इगोर इकिनफेभ हुन् । कप्तान तथा गोलरक्षक उनमा सबैको नजर हुनेछ । साउदी अरेबिया वरियतामा रूसभन्दा तीन स्थानमाथि रहेको टोली हो । साउदीका मुख्य खेलाडी हुन्, मोहम्मद अल–सहलवी । यी ३० वर्षीय फरवार्डले विश्वकप छनोटमा मात्रै १६ गोल गरेका थिए । 


Views: 12