18th November | 2018 | Sunday | 6:39:22 PM

सेमिफाइनलका टोली र प्रभाव पार्नसक्ने खेलाडी

एजेन्सी   POSTED ON : Monday, 09 July, 2018 (3:06:39 PM)

सेमिफाइनलका टोली र प्रभाव पार्नसक्ने खेलाडी

बेल्जियम

बेल्जियम फिफा वरियतामा तेस्रो स्थानमा छ । ऊ १९ छनोट खेलेमध्ये १२ मा विश्वकपमा छनोट हुन सफल भएको छ । उसले सन् १९८६ मा चौथो स्थानमा रहँदै विश्वकपमा सबैभन्दा ठूलो उपलब्धि हात पारेको थियो । त्यसबाहेक बेल्जियम १२ पटक समूह चरणबाटै बाहिरिएको छ । यस विश्वकपको समूह चरणमा पानामा, ट्युनिसिया र इंग्ल्याण्डलाई पराजित गर्दै समूह जी को बिजेता बनेको बेल्जियम अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनमा स्थान बनाएको हो ।

प्रभाव पार्नसक्ने खेलाडी : रामेलु लुकाकु

लुकाकुले बेल्जियमका सुरुवाती दुई खेलमा लगातार २–२ गोल गरेका थिए । उनले पानामा र ट्युनिसियाविरुद्ध २–२ गोल गरेको हुन् । यस्तै, ब्राजिललाई पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गर्दै सहायकको भूमिका निर्वाह गरेका थिए । उनी तीव्र गति, उच्च शैली र गोल स्कोर गर्न र गोलको वातावरण मिलाउने मास्टर खेलाडी मानिन्छन् । विश्वका उत्कृष्ट फरवार्डहरूमध्येमा उनी पर्छन् ।

फ्रान्स

फिफा वरियतामा फ्रान्स सातौं स्थानको टोली हो । फ्रान्सले १७ पटक विश्वकप छनोट खेलेपनि १४ पटक विश्वकपमा स्थान बनाउन सकेको छ । फ्रान्स पाँचपटक सेमिफाइनमा पुगेको र दुई पटक फाइनल खेलेको टोली हो । सन् १९९८ मा फ्रान्सले उपाधि नै उचालेको थियो । समूह चरणमा अष्ट्रेलिया, पेरुलाई पराजित गरेको फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम १६ मा भने अर्जेन्टिनालाई पराजित गर्दै उसले सनसनी मच्चायो । यस्तै, क्वार्टरफाइनलमा फ्रान्समाथि २–० को जित हात पार्दै सेमिफाइनलमा पुग्ने पहिलो टोली फ्रान्स बनेको थियो ।

प्रभाव पार्नसक्ने खेलाडी : केलियन एम्बाप्पे

पेरुविरुद्ध समूह चरणमा गोल गर्दै एम्बाप्पेले यस विश्वकपमा आफ्नो खाता खोलेका थिए । त्योसँगै उनी फ्रान्सको इतिहासमा विश्वकपमा गोल गर्ने युवा (१९वर्ष) खेलाडी बने । अर्जेन्टिनाविरुद्ध भने दुई गोल गर्दै उनले सनसनी मच्चाएका थिए । त्यस खेलमा उनी ‘म्यान अफ द म्याच’ समेत घोषित भए । उनीसँग ठूलो फुटबल प्रतिभा छ । अघिल्लो सिजनमा उनलाई पेरिस सेन्ट जर्मनले नेमारपछि विश्वकै दोस्रो महँगा खेलाडीका रूपमा किनेको थियो ।

इंग्ल्याण्ड

फिफा वरियतामा इंग्ल्याण्ड १२ औं स्थानमा छ । उसले १६ चोटी विश्वकपको छनोट खेलेकामा १४ टोली विश्वकपमा पुग्न सफल भएको छ । सन् १८६६ मा इंग्ल्याण्ड विश्वकप च्याम्पियन बनेको थियो । त्यसबाहेक उसले २ पटक सेमिफाइनल खेलेको छ ।

यस समूह चरणमा इंग्ल्याण्डले ट्युनिसिया, पानामालाई पराजित गरेको थियो भने अन्तिम खेलमा बेल्जियमसँग पराजित हुँदै समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जहाँ उसले कोलम्बियालाई पेनाल्टीमा ४–३ अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा उसको भेट स्वीडेनसँग भयो । स्वीडेनलाई २–० ले पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रभाव पार्नसक्ने खेलाडी : हृयारीकेन

हृयारी केन विश्वका उत्कृष्ट स्ट्राइकरमध्येका एक हुन् । उनी यस विश्वकपमा ६ गोल गर्दै गोल्डन बुट अवार्डमा सबैभन्दा अघि छन् । समूह चरणमा उनले ट्युनिसियाविरुद्ध दुई र पानामाविरुद्ध तीन गोल गर्दै हृयाट्रिक गरेका थिए । अन्तिम १६ मा उनले कोलम्बियाविरुद्ध पेनाल्टीमा एक गोल गरे । 

क्रोएशिया

फिफा वरियतामा सेमिफाइनलमा पुग्ने टोलीमध्ये क्रोएशिया (२०) सबैभन्दा पुछारको टोली हो । विश्वकपमा क्रोएशिया दोस्रोपटक सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९९८ मा सेमिफाइनलमा पुग्दै टोली तेस्रो बनेको थियो । जुन उसको विश्वकप इतिहासको पनि सबैभन्दा सफल प्रदर्शन हो । क्रोएशिया स्वतन्त्र भएयता ६ पटक विश्वकप छनोट खेलेको छ । जसमा ४ पटक ऊ विश्वकपमा पुग्न सफल बनेको थियो ।

समूह चरणमा क्रोएशियाले सेनेगल, अर्जेन्टिना र आइसल्याण्डलाई पराजित गर्दै समूह डीको विजेताकारूपमा अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा उसले डेनमार्कलाई पेनाल्टीमै पन्छायो । क्वार्टरफाइनलमा पनि आयोजक रसियालाई पराजित गर्न उसले पेनाल्टीको साहरा लिनुपरेको थियो । रसियालाई ४–३ ले पराजित सेमिफाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो ।

प्रभाव पार्नसक्ने खेलाडी : लुका मोड्रिच

मोड्रिचलाई विश्वको सर्वकालिन महान् मिडफिल्डरमध्येका एक हुन् । क्रोएशियाका लागि उनले एक सय ११ खेल खेल्दै १४ गोल गरिसकेका छन् । नाइजेरियाविरुद्धको विश्वकपको पहिलो खेलमै उनले पेनाल्टीमार्फत गोल गर्दै म्यान अफ द म्याच चुनिएका थिए । अर्जेन्टिनाविरुद्ध पनि गोल गरेका उनी पुनः म्यान अफ द म्याच चुनिएका थिए । आइसल्याण्डविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेपछि उनलाई धेरै अखबारले समूह चरणकै सबैभन्दा राम्रा खेलाडी मानेका थिए ।


Views: 7