17th July | 2018 | Tuesday | 1:31:40 PM

मेरो करिअरकै दुःखद् क्षण : नेमार

एजेन्सीं   POSTED ON : Monday, 09 July, 2018 (3:14:37 PM)

मेरो करिअरकै दुःखद्  क्षण : नेमार

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेमारले पहिलोपटक मुख खोलेका छन् । बेल्जियमसँग क्वार्टरफाइनलमा २–१ ले पराजित हुँदै उपाधि दाबेदार ब्राजिल विश्वकपबाट बाहिरिएको थियो ।

पेरिस सेन्ट जर्मनका स्टार नेमारले यस विश्वकपमा ब्राजिलका पाँच खेलमा २ गोल गर्नुका साथै एकमा सहायकको भूमिका निर्वाह गरेका थिए । पेनाल्टी पाउनका लागि असामान्य अभिनय गरेको भन्दै यस विश्वकपमा उनको चर्चा भएको थियो । विश्वकपबाट बाहिरिएपछि पहिलोपटक प्रतिक्रिया दिँदै नेमारले यो आफ्नो करिअरकै सबैभन्दा दुःखदायी क्षण भएको बताएका छन् । सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत आफ्नो सन्देश व्यक्त गर्दै उनले लेखेका छन्, ‘हामीलाई थाहा थियो हामी त्यहाँ (उपाधि) पुग्न सक्थ्यौं र इतिहास बनाउन सक्थ्यौं तर त्यो समय यो रहेन् । फुटबल खेल्नका लागि पनि यो मेरा लागि चुनौतीपूर्ण समय बनेको छ । तर, मलाई आशा छ भगवान्ले मलाई जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने शक्ति दिनुहुनेछ ।’

चारवर्ष अघि ब्राजिल आफैले आयोजना गरेको विश्वकपमा जर्मनीसँग ७–१ गोलअन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । यसपटक भने अन्तिम १६ सम्म अपराजित रहेको ब्राजिल क्वार्टरफाइनल भन्दा माथि जान सकेन् ।

‘म यस टोलीको सदस्य हुन पाउँदा खुशी छु,’ ब्राजिलले थपे, ‘मलाई टोलीसँग आबद्ध सबैप्रति गर्व छ । अहिले उनीहरूले हाम्रो लक्ष्यलाई असर गरेपनि हाम्रो दिमाग र मुटुबाट यसलाई (उपाधि) लाई लिन सक्दैनन् ।’ बार्सिलोनाबाट पेरिस पुग्दा नेमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका थिए । २ सय २२ मिलियन युरोमा पेरिस गएका नेमार २०२२ को कतार विश्वकपसम्म ३० वर्षका हुनेछन् । जापानमा सन् २००२ मा अन्तिमपटक विश्वकपको उपाधि पाँचौपटक उचालेयता ब्राजिलले उपाधि उचाल्न सकेको छैन ।